२०८२ साल कार्तिक १९ गते बुधबारका दिन (नोभेम्बर ५, २०२५) इच्छाकामना गाउँपालिका–१, हात्तिवाङ्गस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा बृहत् स्वास्थ्य शिविर भव्य रूपमा सम्पन्न भयो । उक्त कार्यक्रम रोटरी क्लब अफ चितवन, कलेज अफ मेडिकल साइन्सेस र ग्लोबल एक्शन कोएलिशनको संयुक्त आयोजनामा तथा इच्छाकामना गाउँपालिका र रोट्र्याक्ट क्लब अफ चितवनको सह–आयोजनामा सम्पन्न भएको हो ।
रो.ई. प्रदिप भट्टराईको संयोजकत्वमा सम्पन्न भएको सो कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष रो. रामचन्द्र अधिकारीले गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि रोटरी डिस्ट्रिक्ट ३२९२, जोन ३४ का असिस्टेन्ट गभर्नर रो. धनबहादुर श्रेष्ठ रहनु भएको थियो। साथै, यस स्वास्थ्य शिविरमा अन्तर्राष्ट्रिय साझेदार ग्लोबल एक्शन कोएलिशनका अध्यक्ष रोब रोवनको विशेष उपस्थितिले कार्यक्रमलाई अन्तर्राष्ट्रिय महत्त्व प्रदान गरेको थियो ।
स्वास्थ्य शिविरको उद्देश्य दुर्गम स्थानका स्थानीय बासिन्दालाई सहज, सुलभ र निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने रहेको थियो। यस अन्तर्गत नाक, कान र घाँटी, बालरोग, प्रसूति तथा स्त्रीरोग, हाडजोर्नी, दन्त, सामान्य चिकित्सा, तथा मूटुरोग सम्बन्धी उपचार सेवा प्रदान गरिएको थियो । शिविरमा आएको स्थानीय जनसहभागिता उल्लेखनीय रह्यो, जसअन्तर्गत जम्मा ५५० जनाले निःशुल्क स्वास्थ्य परामर्श र उपचार प्राप्त गरे । शिविरमा कलेज अफ मेडिकल साइन्सेसबाट १७ जना डाक्टर, १ जना नर्स÷एच.ए., १ जना फार्मेसी स्टाफ, र १ जना हाउसकिपिङ स्टाफ,४ जना स्वास्थ्य शिविर सहयोगीहरू खटिएका थिए । कार्यक्रममा पूर्व अध्यक्षहरू, बोर्ड सदस्यहरू, सदस्यहरू र रोट्र्याक्टरहरूको सक्रिय उपस्थितिले कार्यक्रमलाई थप प्रभावकारी र सफल बनाएको थियो ।





