चितवन/चितवन, नेपाल राष्ट्रिय उद्योग व्यवसाय संघका केन्द्रीय अध्यक्ष भगीरथ सापकोटाले देशका उद्योग–व्यवसायमाथि आक्रमण गर्ने जो–सुकैलाई राजद्रोहको अभियोगमा कारबाही गर्नुपर्ने बताएका छन्। चितवनमा आयोजित नेपाल राष्ट्रिय उद्योग व्यवसाय संघको दोस्रो अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष सापकोटाले भने, “उद्योग–व्यवसाय राज्यको सम्पत्ति हो। यसमा आक्रमण गर्नु भनेको देशको मेरुदण्डमाथि प्रहार गर्नु हो, यस्तो कृत्यलाई राजद्रोहको रूपमा हेर्नुपर्छ।”
अध्यक्ष सापकोटाका अनुसार उद्योगी–व्यवसायीहरूले केवल आफ्नो लगानी र श्रम लगाउँछन्, तर राज्यका कर र रोजगार सृजनाको जिम्मेवारी उनीहरूले नै उठाइरहेका छन्। उनले भने, “राज्यका कामका ८० प्रतिशत जिम्मेवारी हामीले नै वहन गरिरहेका छौँ। निजी क्षेत्रले कर नतिरे, रोजगारी सिर्जना नगरे भने देश चल्दैन।” नीति निर्माणदेखि कार्यान्वयन तहसम्म उद्योगीहरूको पहुँच नहुँदा राज्यले यो क्षेत्रप्रति उपेक्षात्मक व्यवहार गरेको आरोप लगाउँदै उनले भने, “हाम्रो पैसाबाट देश चलाउने, तर हाम्रो उद्योगको सुरक्षामा राज्य मौन रहने — यस्तो असन्तुलनमा लगानी कसरी बढ्ने?”
सापकोटाले उद्योग र व्यवसायलाई राज्यको मेरुदण्ड भन्दै राजनीतिक नेतृत्वले यस क्षेत्रप्रति कहिल्यै जिम्मेवार दृष्टिकोण नदेखाएको उल्लेख गरे। उहाँका अनुसार देशलाई आत्मनिर्भर र समृद्ध बनाउने बाटो आफ्नै प्राकृतिक स्रोत, कृषि, पर्यटन र जलस्रोतमा आधारित उद्योगबाट मात्र सम्भव छ। उनले जोड दिँदै भने, “कृषि, पर्यटन र जलस्रोतमा आधारित उद्योगबिना देश समृद्ध हुन सक्दैन। विदेशी अनुकृति होइन, आफ्नै मौलिक स्रोत र सीपमा आधारित उद्योग नै हाम्रो बल हो।”
भरतपुर स्थित ग्यालेक्सी रिसोर्टमा आइतबार सम्पन्न संघको दोस्रो अधिवेशन तथा तेस्राे साधारणसभामा नेकपा एमालेका केन्द्रीय सदस्य, तथा बागमती प्रदेशका पूर्व मन्त्री जगन्नाथ थपलिया,एमाले चितवनका जिल्ला अध्यक्ष कमल पाठक सहित विभिन्न तहका नेता कार्यकर्ताका साथै चितवनका उद्योगी–व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।




