भरतपुर/चितवनका तमू समुदायका विद्यार्थीहरूका लागि अब उच्च शिक्षामा आर्थिक सहुलियत मिल्ने भएको छ। अष्ट्रेलियामा व्यवसाय गर्दै आएका भरतपुर–१० निवासी रोशन घलेले जिल्लाका उत्कृष्ट तमू छात्र–छात्रालाई हरेक वर्ष छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका छन्।
भरतपुरमा मंगलबार सम्पन्न अन्तरक्रिया कार्यक्रममा घलेले यो जानकारी गराएका हुन्। उनले हरेक वर्ष कक्षा १२ पास गरेका मध्ये जिल्लास्तरमा उत्कृष्ट अंक ल्याउने एक छात्रा र एक छात्रलाई प्रति व्यक्ति १ लाख रुपैयाँको छात्रवृत्ति दिने घोषणा गरेका हुन्। छात्रवृत्ति तमू ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद् चितवनको संयोजनमा प्रदान गरिनेछ। घलेका अनुसार, यो कार्यक्रम पाँच वर्षे प्रारम्भिक योजनाको रूपमा अघि बढाइनेछ र आवश्यक परे थप वर्षसम्म विस्तार गरिने छ। उनले गैरआवासीय नेपाली संघ (NRNA) का पूर्वअध्यक्ष शेष घलेबाट प्रेरणा लिएर समाजलाई शिक्षा मार्फत योगदान दिने सोच बनाएको बताए।

तमू ह्युल छोँज धीँ चितवनकी अध्यक्ष विमलादेवी गुरुङका अनुसार यो छात्रवृत्ति कार्यक्रम आगामी तमू ल्होसार पर्वदेखि औपचारिक रूपमा सुरु गरिनेछ। उनले यस योजनाले विद्यार्थी मात्र होइन, अभिभावकहरूलाई समेत शिक्षा प्रति उत्साहित गर्ने विश्वास व्यक्त गरिन्।

तमू ह्युल छोँज धीँ चितवनका पूर्वअध्यक्ष तथा अग्रज बुद्धिजीवी पदमबहादुर गुरुङले यो पहलले गुरुङ समुदायलाई शैक्षिक उन्नतिको दिशामा अगाडि बढाउने विश्वास व्यक्त गरे। उनले भने, ‘आजको प्रविधिमैत्री युगमा शिक्षाबिना सफलता सम्भव छैन। यस्ता प्रयासले हाम्रा बालबच्चाको भविष्य उज्यालो बनाउन मद्दत पुर्याउँछ।’ निवर्तमान अध्यक्ष गणेशबहादुर गुरुङले पनि रोशन घलेको सोच अत्यन्त प्रशंसनीय रहेको उल्लेख गर्दै, ‘समाजको सबै तहका मानिसलाई आफूजस्तै सक्षम बनाउन चाहने सोच आफैँमा प्रेरणादायी छ,’ भने।

छात्रवृत्ति घोषणा कार्यक्रममा संघीय प्रतिनिधि तुलाराम गुरुङ, नारायणसिंह गुरुङ, बौद्ध धर्म सेवा समिति नेपाल चितवनका अध्यक्ष दलबहादुर गुरुङ, तमू सञ्चारकर्मी संघ नेपालका संघीय महासचिव चित्र ‘सोल्टी’ गुरुङ, साथै दाता रोशन घलेका बुबा रामप्रसाद घले र आमा तारादेवी घले समेतको उपस्थिति रहेको थियो।




