भरतपुर/भरतपुर, ९ – स्टेप बाइ स्टेप इङ्लिस सेकेन्डरी स्कूल, भरतपुर–९ द्वारा आयोजित २५ औं वार्षिकोत्सवको अवसरमा बालमैत्री विद्यालय, राष्ट्रनिर्माणको आधार शीर्षकमा बेस स्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ। विद्यालयका सह–प्राचार्य युवराज गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम भव्य तथा शैक्षिक वातावरणमा सम्पन्न भयो।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथिबाट पानसमा बत्ती बालेर गरिएको थियो। राष्ट्रियगान बजाएर सुरु गरिएको कार्यक्रममा, विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष उदयबहादुर थापाले स्वागत मन्तव्य दिँदै भने, “निबन्ध लेखनजस्ता सिर्जनात्मक कार्यक्रमहरूले विद्यार्थीहरूमा भाषा, चिन्तन र अभिव्यक्तिको क्षमता अभिवृद्धि गर्छ।” प्राध्यापक डा. चालिसेले आफ्नो मन्तव्यमा लेखन संस्कृतिको महत्वमा प्रकाश पार्दै भने, “निबन्ध लेखन केवल प्रतियोगिता मात्र होइन, विचारको अभ्यास पनि हो। विद्यार्थीहरूलाई यस्ता अवसरहरू नियमित उपलब्ध गराइनु पर्छ।”

निबन्ध लेखनमा चितवनमा रहेका विभिन्न स्कुलका विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यालयका विभागीय प्रमुखहरू, शिक्षक–शिक्षिका, अभिभावक तथा पत्रकारहरू समेतको उल्लेख्य उपस्थिति थियो। कार्यक्रमका प्रमुख अतिथि शिव बहादुर केसीले विद्यालयको २५ वर्षे यात्रामा सिर्जनात्मक क्रियाकलापहरूको महत्व दर्शाउँदै भने, “शिक्षा केवल किताबी ज्ञान होइन, अभिव्यक्ति र सोचको विकास पनि हो। यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई जिम्मेवार र विवेकी नागरिक बनाउन मद्दत गर्छ।”
कार्यक्रमको समापन गर्दै अध्यक्ष युवराज गुरुङले भने, “साहित्यिक र शैक्षिक क्रियाकलापहरूमार्फत विद्यार्थीहरूको बहुआयामिक विकासमा विद्यालय सधैं प्रतिबद्ध छ।” विद्यालयले आगामी दिनमा यस्ता रचनात्मक क्रियाकलापहरूलाई अझ सशक्त बनाउने जनाएको छ।




