काठमाडौं/जेनजी आन्दोलनका क्रममा भएका क्षतिपछि देशभरका बीमा कम्पनीमा कुल करिब २१ अर्ब रुपैयाँ बराबरको बीमा दाबी परेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार, भदौ ३१ गतेसम्म निर्जीवन बीमा कम्पनीहरूले प्राप्त गरेको कुल दाबी रकम २० अर्ब ७० करोड ३८ लाख रुपैयाँ पुगेको छ।देशमा हाल १४ वटा निर्जीवन र ४ वटा लघु निर्जीवन बीमा कम्पनी गरी जम्मा १८ वटा कम्पनी रहेका छन्। तीमध्ये सबैभन्दा बढी दाबी ओरियन्टल इन्स्योरेन्समा परेको छ। कम्पनीसँग ४० वटा निवेदन मार्फत ५ अर्ब १४ करोड ७९ लाख रुपैयाँ बराबरको बीमा दाबी गरिएको छ, जसमा हिल्टन होटलको दाबी पनि समावेश गरिएको छ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा २ सय ५८ वटा निवेदन मार्फत ४ अर्ब ९३ करोड रुपैयाँ दाबी परेको छ। भाटभटेनीको धेरै बीमा दाबी यही कम्पनीमार्फत गरिएको बताइएको छ। शिखर इन्स्योरेन्समा ३ सय ६६ वटा निवेदन मार्फत २ अर्ब ३९ करोड ४ लाख रुपैयाँ दाबी परेको छ भने आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा २४ वटा दाबीमा १ अर्ब ५९ करोड ६ लाख रुपैयाँ बराबर दाबी परेको छ।
त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २ सय ३३ वटा दाबी मार्फत १ अर्ब ४७ करोड ५५ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्समा १९६ निवेदन मार्फत १ अर्ब १५ करोड ६२ लाख रुपैयाँ, र नेको इन्स्योरेन्समा ४० निवेदन मार्फत १ अर्ब ९ करोड ५३ लाख रुपैयाँ बराबरको दाबी परेको छ। इन्स्योरेन्स कम्पनीमध्ये नेशनल इन्स्योरेन्समा सबैभन्दा कम ६ करोड रुपैयाँ बराबरको दाबी परेको छ, जुन १९ निवेदन मार्फत आएको हो। माइक्रो इन्स्योरेन्समा भने प्रोएक्टिभ इन्स्योरेन्समा १ करोड १३ लाख रुपैयाँ बराबरको दाबी परेको प्राधिकरणले जनाएको छ। गत भदौ २३ र २४ गते, काठमाडौंसहित देशभरका जेनजी पुस्ताका युवाहरूले बेथितिविरुद्ध आन्दोलन गरेका थिए। आन्दोलनको क्रममा सार्वजनिक र निजी संरचनामा आगजनी र तोडफोड भएको थियो।




