नेकपा (माओवादी केन्द्र) ले २०६३ सालमा भएको गौर हत्याकाण्ड प्रकरण राजनीतिक प्रकृतिको घटना जस्तो देखिएपनि घेराबन्दी गरेर कसैको पनि सामुहिक हत्या गर्न नपाइने बताएको छ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवप्रति लक्षित गर्दै नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले गौर हत्याकाण्डबारे निष्पक्ष, स्वतन्त्र ढंगले न्यायिक छानविन हुनुपर्ने बताउनुभएको हो । उहाँले केही दिनअघि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले गौर हत्याकाण्डलाई राजनीतिक घटना भन्नुभएकोप्रति लक्षित गर्दै राजनीतिक प्रकृतिको घटना जस्तो देखिए पनि कानूनी रुपले घेराबन्दी गरेर सामुहिक हत्या गर्न नपाइने स्पष्ट पार्नुभयो ।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले तत्कालीन मधेसी जनअधिकार फोरमको नेतृत्व उपेन्द्र यादवले गर्नुभएको र मानव अधिकार आयोगले पनि अध्यक्ष यादवप्रति लक्षित गर्दै प्रतिवेदन बुझाएको बताउनु भयो । सर्वोच्च अदालतले अहिले छानविनका लागि दिएको परमादेशप्रति भने समय सन्दर्भका हिसावले आशंका गर्नसक्ने ठाउँहरु प्रशस्त रहेको बताउनु भयो । जसपा, नेपाल भूमि विधेयकप्रति असन्तुष्टि जनाउँदै सरकारबाट बाहिरिनुले पनि यसमा आशंका गर्नसक्ने ठाउँहरु रहेको बताउनु भयो । सरकार छोडेको र भूमि विधेयकको विरोध गरेकै कारणबाट पनि अदालतको फैसला सरकारको राजनीतिक प्रतिशोध लिने भावना जोडिएको हो की भन्ने आशंका उठेको उहाँको भनाइ छ । माओवादीले अदालतले गरेका फैसला जस्तो भएपनि स्वीकार गर्ने बताउनु भयो ।




