भरतपुर/ चितवन जिल्लाबाट प्रकाशित हुने ‘न्यूजप्रवाह साप्ताहिक’ पत्रिकाको पाँचौ वार्षिकोत्सव मनाइएको छ । बि. एण्ड बि. मिडिया नेटवर्क प्रा.लि. द्वारा सञ्चालित ‘न्यूजप्रवाह साप्ताहिक’ पत्रिकाको सोमबार (भदौ २) पाँचौ वार्षिकोत्सव मनाइएको हो ।
कार्यक्रममा बि. एण्ड बि. नेटवर्क प्रा.लि. का अध्यक्ष तथा प्रबन्ध निर्देशक बबिलाल तामाङको सभापतित्व रहेको थियो ।अध्यक्ष तामाङले ‘न्यूजप्रवाह साप्ताहिक’ पत्रिकाको बारेमा प्रकाश पारेका थिए । उनले पाठकवर्ग, विज्ञापनदाता, शुभचिन्तक महानुभावहरु, पत्रिकासँगै जोडिएका सबैलाई धन्यवाद तथा आभार प्रकट गरेका थिए ।

विसं २०७८ साल भाद्र २ गतेदेखि पत्रिकाको प्रकाशन आरम्भ भएको हो । जिल्लाबाट प्रकाशित उक्त साप्ताहिक पत्रिका प्रेस काउन्सिल नेपालबाट ग वर्गमा वर्गीकरण भएको छ भने तामाङ समुदायबाट यो नै पहिलो भएको दावी गरिएको छ ।
कार्यक्रममा अध्यक्ष तामाङले प्रमुख अतिथि हरिप्रसाद अधिकारीलाई सम्मान स्वरुप मायाको चिनो प्रदान गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष दिपेन्द्र अधिकारी, न्यूजप्रवाह साप्ताहिकका सम्पादक मेकना तामाङ, तामाङ पत्रकार संघ संघीय सदस्य राजेश रुम्बा लामा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) अध्यक्ष तुलमान गुरुङ, एस एण्ड पी कम्पनीका सञ्चालक सूर्यप्रसाद श्रेष्ठलगायतले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा वक्ताहरुले ‘न्यूजप्रवाह साप्ताहिक’को निरन्तरताको कामना गर्दै मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

कार्यक्रममा फोनिज चितवनका उपाध्यक्ष उर्गेन तामाङ, तामाङ पत्रकार संघ चितवनका कार्यवाहक अध्यक्ष सन्तोष तामाङ, चितवनका पोष्टका सहसम्पादक केशव भट्टराई, पत्रकार रोहिणी त्रिपाठी, विना तामाङ, एस एण्ड पी कम्पनीका सञ्चालक निर्मला प्रधानलगायत विभिन्न मिडियाका पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो ।




