पनौती/विश्वकै एकमात्र कालाग्निरुद्रपीठ लड्केश्वर धाममा हालसम्म विश्वकै अग्लो शिव त्रिशूल निर्माण सम्पन्न भइसकेको छ । ७७ जिल्लाको रथयात्रा पश्चात सम्पन्न राष्ट्रिय कोटिहोम, राष्ट्रिय धर्म सभा नेपालद्वारा पीठाधीश घोषणा जस्ता ऐतिहासिक कार्यहरू पछि आज पुनः अर्को गौरवमयी क्षण दर्ज भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय बद्री पाण्डे र सन्त समाजका तर्फबाट श्री १००८ स्वामी रमणानन्द जी महाराजको संयुक्त करकमलबाट ‘कालाग्नि रुद्रपीठ लड्केश्वर धामको निशानी’ अनावरण गरिएको हो ।
गरिमामय समारोहमा विद्वान प्रा.डा. भवानी खतिवडा, भारतको नागेश्वर ज्योतिर्लिंगका अर्चक दर्शन नागनाथ, राष्ट्रिय पञ्चाङ्ग समितिका सदस्य ज्यो. लक्ष्मण पंथी, राजनीतिज्ञ तथा समाजसेवी मधु आचार्य, पनौती नगरपालिका मेयर रामसरण भण्डारी, वेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी, पनौती–११ का वडा अध्यक्ष विपिन लामा, वेथानचोक गाउँपालिका प्रवक्ता मधुसुधनजी, पीठाचार्य अरुणकुमार पाण्डे, ज्योतिष परिषद्का वरिष्ठ उपाध्यक्ष लेखनाथ न्यौपाने, कोटिहोमका गुरुज्यूहरू, दानदाता तथा भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
श्री १००८ स्वामी रमणानन्द महाराजले आफ्नो आशिर्वचनमा कालाग्नि रुद्रपीठको स्थापना र भगवान पशुपतिनाथको पाशुपतास्त्र जस्तो अनुपम धरोहरको निर्माण देशका सबै प्रकारका संकट निवारणको संकेत भएको बताउँदै, अतीतका गल्तीहरूलाई भुली राष्ट्रको समृद्धिका लागि सबैले शिव भगवानसँग क्षमा माग्नुपर्ने आह्वान गर्नुभयो ।
सोही अवसरमा मन्त्री पाण्डेले विश्वकै अद्वितीय कालाग्नि रुद्रपीठ लड्केश्वर धामलाई राष्ट्रिय धार्मिक–पर्यटकीय गन्तव्यको सूचीमा समावेश गर्ने घोषणा गर्दै, पशुपतिनाथ दर्शन गर्ने भक्तजनका लागि लड्केश्वर धाममा रहेको शिवको पाशुपतास्त्र (त्रिशूल) दर्शन गर्न सहज वातावरण बनाइने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै, शिव त्रिशूल निर्माणमा उल्लेख्य योगदान पुर्याउनुभएका पीठाधीश मुकुन्द शर्मा हुमागाईंलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
पीठाधीश हुमागाईंका अनुसार, अब ‘राष्ट्र र राष्ट्रियता प्रति श्रद्धा एवं संकल्प यात्रा’ कार्यक्रमअन्तर्गत हरेक जिल्लामा शास्त्रीय मर्यादामा रही पीठको गरिमा स्वरूप निशानी लैजाने व्यवस्था हुनेछ । यसरी दर्शन गर्न नपाएका भक्तजनलाई लड्केश्वर धामको प्रत्यक्ष दर्शनको सरह अनुभव हुनेछ । ६.५ किलो शुद्ध चाँदीबाट निर्मित यो निशानीको यात्राको सुरक्षाका लागि गृह मन्त्रालयमार्फत ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालयमा पत्राचार भइसकेको जानकारी दिइएको छ । यात्राका लागि पीठले विशेष रथको तयारी समेत पूरा गरिसकेको छ ।




