माडी/चितवन उद्योग संघ, माडी पालिका समितिको सातौं बार्षिक साधारण–सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । चितवन उद्योग संघ, माडी समितिका अध्यक्ष रमेश नेपालीको अध्यक्षमा सम्पन्न कार्यक्रममा बागमती प्रदेश, क्षेत्र नं. ३(२) का सभासद् माननीय ठाकुर ढकाल प्रमुख अतिथि रहनु भएको थियो ।
प्रमुख अतिथि ढकालले माडी औद्योगिक क्षेत्रको विकासमा चितवन उद्योग संघ माडी समितिको ठूलो योगदान रहेको बताउनुभयो । माडी पर्यटन, कृषि उद्योग लगायतका क्षेत्रमा निकै सम्भावना भएको क्षेत्र रहेको हुँदा यसको विकासको लागि माडी क्षेत्रका सम्पूर्ण सरोकारवाला निकायहरुको ध्यान जान जरुरी रहेको बताउनुभयो ।
त्यस्तै विशिष्ट अतिथि माडी नगरपालिका, नगर प्रमुख तारा कुमारी काजी महतोले माडीको औद्योगिक प्रबद्र्धनात्मक कार्यका लागि चितवन उद्योग संघसँग सहकार्यलाई निरन्तरता दिइने बताउनुभयो ।
चितवन उद्योग संघ, माडी समितिका अध्यक्ष रमेश नेपालीले स्वागत मन्तव्य सहित बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा चितवन उद्योग संघका उपाध्यक्ष एवम् निर्वाचन मण्डलका संयोजक गजेन्द्र अधिकारी, सम्पूर्ण वडा अध्यक्षहरुको तर्फबाट माडी नगरपालिका वडा नं. २ का वडाअध्यक्ष डण्डपाणी पौडेल, सम्पूर्ण पालिका समितिहरुको तर्फबाट चितवन उद्योग संघ, खैरहनी समितिका अध्यक्ष युवराज पाठक, होटल व्यवसायी संघ, माडीका अध्यक्ष गोपाल श्रेष्ठ लगायतले नवनिर्वाचित समितिको सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
साधारणसभाको अवसरमा सदस्य उद्योगहरु मध्ये पुस्तान्तरण गरेर पनि निरन्तर रुपमा उद्योगको उत्पादन कार्यमा सम्लग्न रहँदै आउनु भएका लक्ष्मी राईस मिलका प्रोपाइटर गोपाल कुमार महतोका पिता राजमणी महत्तो, सदस्य उद्योगहरु मध्ये कृषिजन्य उद्योगहरु तर्फ कृषि क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको एग्रो नाइन कम्पनी प्रा.लि., सदस्य उद्योगहरु मध्ये प्रत्यक्ष रुपमा स्वयम् उद्यमशिलतामा जोडिदै समितिको लेखा समिति सदस्य पदमा सक्रिय रुपमा रही समितिको हरेक गतिविधिहरुलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्नु हुने ज्येष्ठ सदस्य महेश्वरी राईस मिलका प्रोपाइटर वर्ष ७३ का हरि प्रसाद शर्मा भट्टराईलाई सम्मान गरिएको थियो ।
साधारणसभाको अवसरमा चितवन उद्योग संघ, माडी समितिका कोषाध्यक्ष सुमन खनालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदनहरुमाथि छलफल गरी अनुमोदन समेत गरिएको थियो । चितवन उद्योग संघ, माडी समितिका अध्यक्ष रमेश नेपालीले धन्यवाद मन्तव्य सहित समिति विघटन गर्दै निर्वाचन समितिलाई फ्लोर हस्तान्तरण गर्नुभएको थियो ।
चितवन उद्योग संघका उपाध्यक्ष गजेन्द्र अधिकारी निर्वाचन मण्डलका संयोजक रहनु भएको निर्वाचन समितिको सदस्यहरुमा माडी नगरपालिकाका शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख रविन्द्र प्रसाद देवकोटा र चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल रहनु भएको थियो ।
निर्वाचन समितिले नवनिर्वाचित समितिको नाम घोषणा गरेको थियो । समितिको अध्यक्षमा जिताराम महतो, उपाध्यक्षहरुमा नारायणदत्त रिजाल, गोविन्द प्रसाद नेपाल, ताराचन्द्र महतो, सचिवमा प्रजापति तिवारी, कोषाध्यक्षमा सुमनराज खनाल, कार्यसमिति सदस्य एवम् महिला अध्यक्षमा कौशल्या देवी शाह, कार्यसमिति सदस्य एवम् युवा अध्यक्षमा शोभाकर सुवेदी, कार्यसमिति सदस्यहरुमा मोहनराज पोखरेल, गीता खनाल, महिला सदस्यहरुमा कृष्ण माया महतो र लक्ष्मी महतो, युवा सदस्यहरुमा मोहन बहादुर भण्डारी र रामधनी गुप्ता त्यस्तै लेखा समितिको सदस्यहरुमा हरि शर्मा र घनश्याम चौधरी चयन हुनु भएको थियो । नवनिर्वाचित समितिका अध्यक्षलाई निवर्तमान अध्यक्ष र कार्यसमिति सदस्यहरुलाई नवनिर्वाचित अध्यक्षले सपथ खुवाउनु भएको थियो ।
चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघ, माडी समितिका नवनिर्वाचित अध्यक्ष जिताराम महतोले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।




