यहाँ अति सङ्कटापन्न सालको जङ्गलमा रहने भुई, तीन पाते पहाडी, पदनी, पुतली र मयुरपङ्खी कछुवा छन् । भुई र तीन पाते पहाडी कछुवाले घाँस पात, किरा फड्याङ्ग्रा, फलफूल खाने गर्दछ । धेरै गर्मीमा पानीमा र अरुबेला जमिनमा यी कछुवा रहन्छ । यी कछुवा बिहान र बेलुका धेरै सक्रिय हुने गर्दछन् ।पदनी पानीमा बस्ने कछुवा हो । यो मुख्य रुपमा घोलमा पाइन्छ । यसले सागपात, किराफट्याङ्ग्रा मासु सबै खान्छ । पुतलीलाई नरम खबटे कछुवा पनि भनिन्छ । दलदल र पोखरीमा यो बस्छ । खड्काका अनुसार पहिले पहिले यसै कछुवालाई इनारमा पानी सफा गर्छ भनेर राख्ने प्रचलन थियो ।

मयुरपङ्खीलाई नरम खबटे भनिन्छ । यो पोखरी, दलदल र हिलोमा बस्छ । पानीमा पाइने, किरा फट्याङ्ग्रा, माछा मासु खाने गर्दछ । निकुञ्जले पदनी, पुतली र मयुरपङ्खीलाई गोहीसँगै राखेको छ । ती कछुवालाई माछा, मासु दिने गरिएको छ भने अन्यलाई चना, भटमास, फर्सी, गाजर दिने गरिएको छ ।कछुवा हुर्काएर प्रकृतिमा छोड्न, यसको महत्व बुझाउन, अध्ययन अनुसन्धान र जनचेतनाका लागि निकुञ्जले कछुवाको संरक्षण गरेको उहाँको भनाइ छ । विश्वमा २५० जातिका कछुवा पाइन्छन् । तीमध्ये नेपालमा १८ जातिका रहेको खड्काले जानकारी दिनुभयो । तस्करले चोरीशिकार गरेर यसलाई धेरै मूल्यमा बिक्री गर्ने गर्छन् ।रासस




