पूर्वमन्त्री एवम् चितवन क्षेत्र नम्बर ३ का सङ्घीय सांसद विक्रम पाण्डेले युवालाई देश फर्काउन मेहनत गर्नुपर्न समय आएको बताउनुभएको छ । अहिले युवालाई विदेश लखेट्ने काम भइरहेको भन्दै सङ्घीय सांसद पाण्डेले युवा नहुँदा गाउँमा उत्पादन भएका वस्तु बिक्रीमा समस्या आएको बताउनुभयो । चितवनको भरतपुर–२५ शुक्रनगरमा आज शनिबार आयोजित कृषक समूहलाई हाते ट्रयाक्टर वितरण कार्यक्रममा सङ्घीय सांसद पाण्डेले भन्नुभयो, ‘युवाहरु गाउँमा नहुँदा महिला दिदी बहिनीले धेरै दुःख गर्नुपरेको छ । किसानले उत्पादन गरेको सामान बिक्री नहुने तथा किसानको सामानमा बिचौलियाले फाइदा लिने काम भइरहेको सङ्घीय सांसद पाण्डेले बताउनुभयो । बिचौलिया मोटाउने र किसान दिनदिनै गरिब हुने अवस्था आइरहेको उहाँको भनाइ छ ।
नेपाल भारत मानव विकास एवम् मैत्री संघ तथा डिजिटल फर्मरस् मिसनका अध्यक्ष सूर्य भुसालले भरतपुरका चार र माडीका चार कृषक समूहलाई हाते ट्रयाक्टर वितरण गरिएको जानकारी दिनुभयो । कृषक समूहलाई निःशुल्क वितरण गरिएको उक्त हाते ट्रयाक्टर किसानको आवश्यकताको आधारमा निःशुल्क प्रदान गर्ने गरी दिइएको बताउनुभयो ।
नेपाली किसानको जीवनस्तर उकास्ने प्रयासमा आफूहरु लागिरहेको भन्दै भुसालले किसानलाई प्रविधि, मल, बिउ, बजारीकरण, सुलभ कर्जा, सिँचाइलगायतमा सहयोग गर्न भारतसँग कुरा गरिरहेको बताउनुभयो । नेपालका १५ लाख परिवारलाई एकत्रित गरी कम्पनी निर्माण गरी किसान नेट सञ्चालनमा ल्याएर किसानलाई आफ्नै इन्टरनेट प्रदान गर्ने तयारी गरिएको भन्दै उहाँले यसबाट किसानहरुलाई अन्य उद्योगहरुको मालिक बनाउने काम थालनी हुने बताउनुभयो ।
कार्यक्रममा भरतपुर उपमहानगरपालिका उपप्रमुख चित्रसेन अधिकारी, कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकूलपति प्राडा शारदा थपलियालगायतले मन्तव्य राख्नुभएको थियो । भरतपुर–२५ को शुक्रनगरमा रहेको प्रभात माविमा भएको कार्यक्रममा प्रमुख अतिथि पाण्डेसहितका अतिथिहरुले कृषक समूहलाई हाते ट्रयाक्टर वितरण गर्नुभएको थियो ।




