विश्वभरमा महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर तेस्रो स्थानमा पदर्छ । भने, नेपालमा पहिलो नम्बरमा नै पदर्छ । नेपालमा धेरै जसो ग्रामिण भेगको महिलाहरूलाई पाठेघर मुखको क्यान्सर हुने गरेको तथ्यहरुले बताउँछ । विश्व स्वास्थ संगठनको रिपोर्टअनुसार नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण प्रत्येक दिन पाँच महिलाको मृत्यु हुने गरेको तथ्याङ्क छ । क्यान्सर लग्यो भने मृत्यु हुन्छ भन्ने आम बुझाइलाई परिवर्तन गरेर क्यान्सर लाग्न नदिन परीक्षण र लागिहाले समयमा परीक्षण गर्न सके पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिने सम्बन्धित क्षेत्रका विज्ञहरुले बताएका छन् । महिलाहरुमा बढ्दो रुपमा रहेको पाठेघरको क्यान्सरका विषयमा मनकामना अस्पतालकी नर्सिङ प्रशासन प्रमुख श्री कविता खतिवडासँग गरिएको कुराकानीको सारसंक्षेप :

Advertisement
- पाठेघरको क्यान्सर कसरी थाहा पाउने ?
जुनसुकै अंगमा सामान्यभन्दा धेरै कोषिका बढ्नु क्यान्सर हुनु हो । अक्सर महिलाहरु पाठेघर क्यान्सरको जोखिममा हुन्छन् । पाठेघरको क्यान्सर अन्तर्गत पाठेघरको मुखको क्यान्सर तथा पाठेघरको भित्रपट्टिको क्यान्सर प्रमुख छन् । ह्युमन प्यापिलोमा भाइरसका कारणले पाठेघरको मुखको क्यान्सर भएको पाइन्छ । यसका साथै धेरैजना पुरुषसँग यौनसम्पर्क राख्ने, सानो उमेरमा धेरै सन्तान जन्माउने महिलामा पनि यो क्यान्सर हुन सक्छ । महिलामा हुने सम्पूर्ण क्यान्सरमध्ये धेरै हुने स्तन क्यान्सर, फोक्सोको क्यान्सर र तल्लो आन्द्राको क्यान्सरपछि पाठेघरको क्यान्सर चौथो नम्बरमा पर्छ । - रोकथामका लागी के गर्नुपर्छ ?
महिलाहरुमा सबैभन्दा धेरै हुने क्यान्सर पाठेघरको मुखको क्यान्सर हो । हामीले क्यान्सरको उपचार भन्दा पनि कसरी क्यान्सर हुन नदिने या क्यान्सरबाट कसरी बच्ने भन्नेबारे सोच्नु पर्छ । महिलाहरुलाई धेरै देखिने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर दुबैबाट बच्ने उपाय छ । जसलाई स्क्रिनीङ टेस्ट भनिन्छ । स्क्रिनीङले रोग लाग्नभन्दा अगाडि नै आफूलाई त्यो रोग लाग्ने वाला छ भनेर थाहा पाउन सकिन्छ । स्क्रिनीङका तीन वटा तरिका छन्, भीआईएलाई टेस्ट, प्याप स्मेयर र एचपिबी डिएनए परीक्षण । एचपिबी डिएनए परीक्षण एक पटक गरेपछि पाँच वर्ष सम्मलाई गर्नु पर्दैन । विशेषत पाठेघरको मुखको क्यान्सरमा समय भन्दा अघि पत्ता लगाउनुकोसँगै रोग नै नलाग्न दिन पनि सक्छौं । जसको लागि भ्याक्सिन छ । भ्याक्सिन भनेको रोकथाम हो । - कारणहरु के–के हुन सक्छ ?
९० प्रतिशत भन्दा धेरै पाठेघरको मुखको क्यान्सर ह्युमन प्यापिलोमा भाइरसको कारणले गर्दा हुन्छ । तर यो संगै सानो उमेरदेखि असुरक्षित यौनजन्य क्रियाकलापमा सक्रिय हुनु, धेरै बच्चा जन्माउनु, धेरै जनासँग यौनसम्पर्क गर्नु, सानो उमेरमा बच्चा जन्माउनु र सरसफाईको कमीले हुने गर्दछ । - किन ९ देखि १४ वर्ष उमेरलाई भ्याक्सिन लगाउने उपयुक्त उमेर मानिन्छ ?
त्यो उमेरमा बालबालिकाहरु यौनजन्य क्रियाकलापमा सक्रिय भएका हँुदैनन् । उक्त भाइरस आउने भनेको पुरुषबाट हो । त्यसकारण एकपटक यौनसम्पर्क भइसकेपछि भाइरस सर्ने जोखिम उच्च हुन्छ । सबैमा भाइरस सर्छ भन्ने त हुँदैन । त्यसकारण ९ देखि १४ वर्ष भ्याक्सिन लगाउने उपयुक्त उमेर हो । १४ वर्ष पछि पनि बच्चाहरु यौनजन्य क्रियाकलापमा सक्रिय नभएको भए भ्याक्सिन लगाउन मिल्छ । अहिले २६ र ४६ वर्ष उमेर सम्म महिलाहरुले लगाउन मिल्ने भ्याक्सिनहरु पनि आएको छ । तर सानो उमेरमा लगाएको भ्याक्सिन प्रभावकारी हुन्छ । - गर्भावस्थामा पाठेघरको क्यान्सर पहिचान भएमा के हुन्छ ?
त्यस्तो अवस्थामा बिरामीको स्टेज कुन हो पत्ता लगाइन्छ । हरेक परिवारको लागि सन्तान पनि जरुरी हुन्छ, त्यसकारण कुन सन्तान हो त्यो बुझिन्छ । पहिलो सन्तान हो र सुरुवाती चरणमा छ भने कुरेर बच्चा जन्मिए पछि नै क्यान्सरको उपचार गर्ने गरिन्छ । - पाठेघरको मुखको क्यान्सर कुन स्टेजसम्म निको हुन्छ ?
पाठेघरको मुखको क्यान्सर निको हुने सम्भावना धेरै हुन्छ । यो क्यान्सरमा तेस्रो स्टेजको अन्तिमतिर भएका बिरामीहरु समेत निको हुन सक्छन् । क्यान्सर भएपछि मरिन्छ भन्ने भ्रमले यसको उपचार नै नगराउनु गलत हो । पाठेघरको मुखको क्यान्सर पहिलो स्टेज र दोस्रो स्टेजको “ए” स्टेजसम्म छ भने अप्रेसन गर्नुपर्छ । अप्रेसन भनेको पाठेघर निकालेर फ्याल्नु हो । पाठेघर फ्यालेपछि पनि अन्यखाले खतरा छ भने थप उपचार गर्नुपर्छ । दोस्रो स्टेजको “बि” देखि लिएर तेस्रो स्टेजमा पुगेपछि अप्रेसन गरिँदैन । किमोथेरापी र रेडियोथेरापी संगसंगै दिएर उपचार गरिन्छ । चौथों स्टेज भन्ने बित्तिकै रोग फैलिसक्यो भन्ने बुझ्नु पर्छ । त्यस्तो अवस्थामा बिरामीलाई के गर्दा सहज हुन्छ त्यसरी नै उपचार गरिन्छ ।
श्री कविता खतिवडा, नर्सिङ प्रशासन प्रमुख , मनकामना अस्पताल




