– विना तामाङ
चितवन/भरतपुर वडा नं. २, क्षेत्रपुरस्थित सिद्धिविनायक बचत तथा ऋण सहकारी संस्था लि. (साकोस) ले एकै दिन तीन वटा कार्यक्रमहरु सम्पन्न गरेका छन् । शेयर सदस्यहरुको सेवामुखी उद्देश्यसहित स्थापित उक्त संस्थाले शनिबार वार्षिक समीक्षा तथा आगामी आव २०८२÷२०८३ को वार्षिक नीति तथा बजेट तर्जुमा गोष्ठी सम्पन्न गरेको छ ।

संस्थाका व्यवस्थापक विकास पौडेलले आगामी वार्षिक नीति तथा बजेटबारे प्रस्तुति दिएका थिए । संस्थागत गतिविधिलाई केही फरक र आगामी कार्यक्रम केही थप गर्दै लैजाने उनले प्रष्ट पारेका थिए ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष मुकुन्दप्रसाद गौतमले स्वागत मन्तव्य दिएका थिए भने सचिव जयराम पाण्डेले संचालन गरेका हुन् ।
३४औं विवाह वार्षिकोत्सवको शुभकामना
सिद्धि विनायक साकोस परिवारले सोही अवसरमा संस्थाका उपाध्यक्ष मुकुन्दप्रसाद गौतम दम्पत्तीलाई ३४औं विवाह वार्षिकोत्सवको शुभकामना व्यक्त गरेका छन् ।

कार्यक्रममा गौतम दम्पत्तीलाई संस्थाका अध्यक्ष थिरप्रसाद धिताल, सचिव जयराम पाण्डे, सहसचिव संगीता गौतम, कोषाध्यक्ष रामप्रसाद घिमिरे, व्यवस्थापक विकास पौडेललगायतले संयुक्त रुपमा केक काटेर विवाह वार्षिकोत्सवको शुभकामना दिएका हुन् ।
दम्पत्तीको असार २१ गते ३४औं विवाह वार्षिकोत्सव हो भने उनीहरु फलफूल व्यवसायमा आवद्ध छन् ।
राहत रकम प्रदान
यस्तैगरी सिद्धि विनायक साकोसले शेयर सदस्य स्व. अशोक परियारको परिवारलाई राहत स्वरुपको रकम रु. २५ हजार प्रदान गरेको छ ।
उक्त राहत रकम स्व. परियारकी श्रीमती सावित्री परियारलाई प्रदान गरिएको राहत वितरण उपसमिति संयोजक कृष्णप्रसाद सिलवालले जानकारी दिए ।

स्व. परियारको असार ५ गते निधन भएको थियो । सामाजिक उत्तरदायित्व वहन गर्दै संस्थाले संचालन गरेको सुरक्षा कोष अन्तर्गत सदस्य कल्याण कोषबाट यसअघि पनि राहत रकम प्रदान गर्दै आएको छ । २०६५ सालमा स्थापना भएको सिद्धि विनायक साकोसले विशेषगरी शेयर सदस्यहरु लक्षित विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । हाल संस्थामा दुई हजार बढी शेयर सदस्यहरु रहेका छन् ।




