काठमाण्डौं/जाँड, रक्सी, सुर्ती तथा लागुऔषधको प्रयोग गर्नेहरुले कोरोना भाइरस सङ्क्रमण फैलाउने सम्भावना बढी रहेको चिकित्सकहरुले बताएका छन् । त्यसैले यस्ता लत हटाउन उनीहरुले आग्रहसमेत गरेका छन् ।
जाँड, रक्सी, सुर्ती तथा लागुऔषधको प्रयोग गर्नेहरुले स्वास्थ्य मापदण्डको ख्याल नगर्ने र रोग प्रतिरोधी क्षमता पनि कम हुने भएकोले त्यस्ता व्यक्तिबाट कोरोना फैलने डर धेरै हुने मानसिक रोग विशेषज्ञ डाक्टर सगुन वल्लभ पन्तले बताए ।
यस्ता वस्तुको प्रयोगले मानसिक समस्यासमेत आउने र यसले जोखिम झनै बढाउने उनको भनाइ छ । साथै डा. पन्तले महामारीका बेला विभिन्न बहानामा जाँड, रक्सी तथा चुरोटलगायत लागुऔषध प्रयोग नगर्न र प्रयोग गर्दै आएको भएमा छाड्न अनुरोध गरेका छन् ।
अहिले अस्पतालहरुमा रक्सीजन्य वस्तुको प्रयोगबाट मानसिक समस्या भएकाहरु पुग्ने क्रम बढेको भन्दै उनले यदि यस्ता वस्तुको लत भएमा तत्कालै उपचार गर्न पनि अनुरोध गरेका छन् ।जाँड, रक्सी, चुरोट खानेहरुलाई कोरोना सङ्क्रमण भएमा तुलनात्मक रुपमा बढी असर गर्ने भएकोले आफू र आफ्ना परिवारका लागि पनि यस्ता बानी त्याग्न डाक्टरहरुको आग्रह छ ।




