भरतपुर/मेलमेलाप टोल भरतपुर ५ को आयोजनामा असल अभ्यास आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । सोहि टोलको दोस्रो साधारण सभाको पावन अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । मेलमेलाप टोलका अध्यक्ष बुद्धि बहादुर खड्काको सभापतित्वमा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथिका रुपमा भरतपुर महानगरपालिका वडा नं ५ का वडाध्यक्ष युद्ध प्रसाद श्रेष्ठको उपस्थिति रहेको थियो । कार्यक्रममा वडा भित्रका सम्पुर्ण टोलहरु बिच असल अभ्यासको आदान प्रदान गरिएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथिका रुपमा निवर्तमान अध्यक्ष पदमपाणी सुवेदीको उपस्थििति रहेको सो कार्यक्रममा १३ वटा टोलहरुको सहभागिता रहेको थियो । सो कार्यक्रमबाट प्रस्तुत गरिएका उत्कृष्ट असल अभ्यासलाई हाते पुस्तिका प्रदान गर्ने योजना रहेको आयोजकले जनाएको छ । टोलका सम्पुर्ण जनसंख्याको तथ्यांक संकलन गरि एक्सल बेस्ड प्रोग्राममा अभिलेखीकरण गरिएको मेलमेलाप टोलको एक असल अभ्यास रहेको टोलले जानकारी दिएको छ ।
यसैगरि उक्त टोलका अरु असल अभ्यासका बारेमा बताउँदै अध्यक्ष खड्काले टोलले गर्ने कुनैपनि कार्यक्रममा पत्रु खाना, प्लास्टिकजन्य पदार्थ आदिको प्रयोग नगरीएको जानकारी दिनुभएको छ । उहाँले टोलबासीको जन्मदिनको अवसरमा समेत केक काटेर फजुल खर्च नगरी बरु टोललाई सकेको सहयोग गर्ने गरेको जानकारी दिनुभएको छ । मेलमेलाप टोलका सचिव सफल अधिकारीले संचालन गर्नुभएको सो कार्यक्रममा वडा भित्रका टोलका करिव १५० जनाको सहभागीता रहेको थियो ।




