गोरखा । नेपाल चेम्बर अफ कमर्स गोरखाको अध्यक्षमा रामस्वरुप श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । चेम्बरको बुधबार सदरमुकाममा भएको उम्मेदवारी मनोनयनमा श्रेष्ठको एकल उम्मेदवारी परे लगत्तै उनी निर्विरोध निर्वाचित भएका हुन् । बैशाख २७ गते हुने ५औं साधारण सभा तथा तेस्रो अधिवेशनको लागी बुधबार भएको निर्वाचन कार्यक्रम अन्तरर्गतको उम्मेदवारीमा श्रेष्ठले मात्र अध्यक्षमा उम्मेदवारी दिएका थिए । श्रेष्ठ यस अधि बरिष्ठ उपाध्यक्ष थिए ।
निर्वाचनको उम्मेवारी अन्तरर्गत २३ जना सदस्यको उम्मेदवारीमा २४ जनाले नाम गर्दा गराएका छन् । आउदो शनिबार हुने निर्वाचनको मिति तय गरीएको छ । निर्वाचन अगाडी नै सर्व सहमितको प्रयास गरिने उनले जानकारी दिए । निर्वतमान अध्यक्ष र २ जना मनोनित सदस्य सहित २७ सदस्यीय कार्य समिति निर्माण हुने छ । अहिले उपाध्यक्ष भएका शिशुबावु प्रधान, महासचिव बिण्णु राना मगर, कोषाध्यक्ष सुमेन्द्र श्रेष्ठ, सचिव अशोकबावु राना र सह सचिव सिता श्रेष्ठले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेदवारी दिनेहरुमा ज्ञानु अधिकारी अर्याल, सुर्यमायाँ श्रेष्ठ, अञ्जन खत्री, अरबिन्द कुमार गुप्ता, सन्दिप प्रसाद रौनियार, ज्ञानेन्द्र श्रेष्ठ, भाईकाजी आले, विशाल राना मगर, बिनोद बावु अर्याल, कृण्ण ढकाल, सुजन गतौंला, नोख बहादुर बोगटी, रमेश थापा, सुरेन्द्र बस्नेत, गोकर्ण बहादुर राना मगर, सुस्मिता घले, कृण्ण प्रसाद लामिछाने, गणेश बावु श्रेष्ठ र ज्ञानहरी अर्याल छन् । निर्वाचित भएका मध्यबाट नै अध्यक्षले बस्तुगत सहित २ उपध्यक्ष, १–१ महासचिव, कोषाध्यक्ष, सचिव र सह–सचिवको चयन गर्ने छन् । यि पदहरु सर्व सम्मत भएको खण्डमा २७ गते साँझ र निर्वाचन भएको खण्डमा २८ गते बस्ने पहिलो बैठकले निर्णय गर्ने गोरखा चेम्बर अफ कमर्सले जानकारी दिएको छ ।





