चितवन/चितवनमा समयाैनिक महिला पहिचान दिवसमा भाेलीदेखि विविध कार्यक्रम हुदैँछन्। सामरी उत्थान सेवा, चितौन कचेहेरी र वेटर चितवनको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेकाे हाे ।तीन दिनसम्म चल्ने कार्यक्रममा पिडितकाे स्टाेरी टेलिङ, चित्रकला प्रदर्शनी तथा प्यानल छलफल लगायतका कार्यक्रम हुने कार्यक्रम संयाेजक राेशनी कर्णले जानकारी दिइन् ।उनका अनुसार दलित, क्वियर र प्रतिरोधको नारासहित जात, लिङ्ग र यौनिकता: किनाराको पनि किनाराका कुरा विषयमा प्यानल छलफलमार्फत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूकाे अवस्थाबारे छलफल गरिनेछ ।
छलफलमा वक्ताहरू अभियन्ता विमला गायक, दलित क्वियर अभियन्ता रोशनी कर्ण र एलजीबीटीक्यू अभियन्ता मिलन वास्तोला रहेका छन् भने लेखक तथा अभियन्ता डा। जीवन क्षेत्रीले सहजिकरण गर्ने संयाेजक कर्णकाे भनाइ छ ।
भाेली अर्थात वैशाख १३ गते दिउँसाे १ बजेदेखि ४ बजेसम्म होटल ग्लोबल चौविसकोटीमा प्यानल छलफल र स्टोरी टेलिंग हुनेछ भने त्यसपछि चौविसकोटीमा चित्रकला प्रदर्शनी हुनेछ । १५ गतेसम्म चल्ने चित्रकला प्रदर्शनी हरेक दिन दिउँसो ३ बजेदेखि बेलुकासम्म हुनेछ ।समयौनिक महिला पहिचान सप्ताहकाे अवसरमा समयौनिक महिलाहरूले भोगेका समस्या र चुनौतिबारे विमर्श गर्न लागिएकाे हाे ।
नेपालमा करिब ५०० भन्दा बढी दलित क्वियर छन् ।सामरी उत्थान सेवाले २०८० भदौमा सातै प्रदेशका २५ जना दलित समुदायका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूको बीचमा गरेको एक अध्ययनमा ४४ प्रतिशतले आफू परिवारसँग नबस्ने गरेको पाइएकाे थियाे । अध्ययनका अनुसार उनीहरूमध्ये ३२ प्रतिशतले आफ्नो यौनिक पहिचानकै कारण सबैभन्दा बढी परिवारबाट विभेद भोग्नु परेको छ भने ६० प्रतिशतले जातकै कारण विभेद भोग्नु परेको छ ।
अध्ययनले दलित व्यक्तिहरूले आफ्नो समुदाय भित्र र बाहिर दुवैबाट भेदभाव र हिंसाको अनुभव गर्ने सम्भावना बढी हुने भएकाले उनीहरूमाथि हुने हिंसाको तह वा गम्भीरतासँग उनीहरूको बढ्दो सीमान्तकरण पनि सम्बन्धित रहेको उल्लेख गरेको थियो ।
लेस्बियन भिजिबिलिटी वीक अर्थात् समयौनिक महिला पहिचान दिवस लेस्बियन महिलाहरू र उनीहरूका समस्याहरूको बारेमा जागरूकता बढाउन समर्पित वार्षिक उत्सव हो । सन् २०२० मा डिभा म्यागजिनका प्रकाशक लिन्दा राइलीले सर्वप्रथम लेस्बियन पहिचान सप्ताहको सुरुआत गरेकी थिइन् । सन् २०२० को अप्रिल २० देखि सुरु भएर २६ अप्रिलमा यो सप्ताह समाप्त गरिएको थियो । त्यसपछि हरेक वर्ष अप्रिल २६ मा लेस्बियन भिजिबिलिटी दिवस बनाउन थालियो । हाल विश्वभर हरेक वर्षको अप्रिल महिनाको अन्तिम हप्तालाई समयौनिक महिला पहिचान सप्ताहका रूपमा मनाइने गरिन्छ ।




