चितवन/ चितवनका पर्यटकीय क्षेत्रहरूमा पहिलोपटक महिला मोटर र्याली हुनेभएको छ। बागमती प्रदेश अटोमोवाइल्स संघले आगामी चैत २५ गते चितवनको विभिन्न पर्यटकीय क्षेत्रहरुलाई जोड्दै भरतपुर – मेघौली – गोलाघाट – जगतपुर – पटिहानी – सौराहमा महिला मोटर र्याली गर्न लागेको हो । आयोजकले आज रत्ननगरको सौराहमा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । महिलाहरुलाई साहसिक क्षेत्रमा पनि अग्र स्थान दिनको लागि प्रतियोगिता गर्न लागिएको बागमती प्रदेश अटोमोवाइल्स संघका अध्यक्ष एवं कार्यक्रम संयोजक राजन पियाले जानकारी दिनुभयो । उहाका अनुसार यस र्यालीको ड्राइभ टुरिजम, महिला सशक्तिकरण तथा साहसिक खेलकुदमा प्रवेश गर्ने पनि उद्देश्य रहेको छ।
समय, दुरि र गतिमा (टिडिएस)मा आधारित र्यालीमा सहभागी ड्राइभरहरूले तोकिएको रुटमा तोकिएको गति भित्र रहेर तोकिएको चेक–पोइन्ट पार गर्दै समयभित्र यात्रा सम्पन्न गर्नुपर्ने छ। मोटर रेसिंगको सर्ट सर्किट विधा स्पेशल स्टेज छोटो र साँगुरो अस्थाई सर्किट डिजाइन गरि कलात्मक हिसावले तयार गरिने छ। जहाँ ड्राइभरहरूले आफ्नो कला, साहस र सृजना प्रस्तुत गर्ने पाउनेछन्।
कार्यक्रममा ड्राइभर, नेभिगेटर, मार्शन, मेकानिक, मेडिकल र अन्य अपिसियल गरि १०० जनाको सहभागीता रहनेछ । आगामी चैत्र २५ गते विहान ७ बजे देखि शुरुवात गरिने उक्त कार्यक्रममा प्रतियोगीत विजेतालाई शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै स्पेसल स्टेजमा उत्कृट २ जनालाई अन्तराष्ट्रिय खेलमा सहभागिताको अवसर प्रदान गरिने छ । नेपाल भरिका कुनै पनि स्थानका इच्ङ्गक महिला ड्राइभरहरुले अनलाइन मार्फत नाम दर्ता गर्ने सक्ने भए पनि नासा नेपालको स्पोर्टस् लाइसेन्स लिएको भने हुनुपर्ने भनीएको छ। कार्यक्रममा सवै किसिमका कार तथा जिपले भाग लिन पाउनेछन् भने प्रतियोगितामा महिलाहरुमात्र सहभागी हुन पाउनेछन । भरतपुरको नारायणी नदीतिर स्थित चितवन उद्योग वाणीज्य संघ छेउबाट प्रतियोगिताको शुरुवात गर्ने आयोजकले बताएको छ ।

अध्यक्ष पियाका अनुसार प्रतियोगितामा सहभागीले दर्ता शुल्क वाफत १ हजार बुझाउनुपर्नेछ भने चितवन बाहिरबाट आउने सहभागिलाई १ रातको आवास व्यवस्था सामेत गरिने छ। साथै सुरुवात मै सहभागिको लागि खेलकुद विमा, रेमिङ्ग तथा रोड सेफ्टीको ओरीन्टेसन गरिनेछ । महिलाको मोटर प्रतियोगिताका लागि करिव ११ लाख ६० हजार कुल लागत अनुमान गरिएको छ। प्रतियोगितामा उद्यमी, व्यवसायी तथा दर्ता शुल्क मार्फत बजेट व्यवस्थापन गरिने भनिएको छ । साथै भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, चितवन अटोमोवाल्स डिनर एसोसिएशन, बागमती खेलकुद विकास परिषद, राष्ट्रिय खेलकुद परिषद, रेवान सौरहा सहयोगी संस्थाको रुपमा रहनेछन् । उक्त प्रतियोगिताको प्रत्यक्ष प्रसारण टेलिभिजनबाट गरिने छ ।
पछिल्लो समय नेपाल र विश्वकै अत्यन्तै साहसिक र पृथक पहिचान बोकेको मोटर स्पोर्टसको विधा स्पेशल स्टेज सहितको समय, दुरि र गति (टिडिएस)मा आधारित र्याली पनि हो। विगत एक दशक देखि नेपालमा र चितवनमा समेत प्रिय हुदै आएको मोटर स्पोट्सको कैयौ इभेन्ट चितवनमा पनी सम्पन्न भइरहका छन् । नेपाल अटोमोवाइल्स एसोसिएसनका अन्तर्राष्ट्रिय तालिम मार्शलहरु ओरियन्टेसन गर्ने साथै निर्णायक समेत हुनेछन् । प्रतियोगितामा इच्छुक महिला ड्राइभरहरुले अनलाइन मार्फत फारम भर्न सक्नेछन्, हालसम्म १२ जना महिलाले आफ्नो स्थान सुरक्षित गरिसकेको आयोजकले बताएको छ।




