काठमाडौँको प्रदर्शनीमार्गमा गणतन्त्र पक्षधर समाजवादी मोर्चा र तीनकुनेमा व्यवस्था उल्टाउन लागि परेका पूर्वराजा समर्थकले प्रदर्शन गर्ने भएका छन् । समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएका छन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को ब्यानरमा पूर्वराजका समर्थकहरूले तीनकुनेमा प्रदर्शन गर्दै छन् । नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले प्रसाईँसँगै मिलेर प्रदर्शन गर्न लागेको सुरक्षा अधिकारीहरू बताउँछन् । सुवेदी नेतृत्वको समूहले प्रदर्शन स्थलबारे सार्वजनिक नगरेको हुनाले प्रसाईँसँगै मिसिएर शक्ति प्रदर्शन गर्न लागेको आकलन गरिएको छ ।
पूर्वराजाका समर्थकलाई चक्रपथभन्दा बाहिर मात्रै जुलुस निकाल्न दिने गरी प्रहरीले सुरक्षा रणनीति तयार गरेको छ । चाबहिलबाट तीनकुने र सातदोबाटो हुँदै तीनकुनेसम्म पूर्वराजका समर्थकलाई जुलुस निकाल्न दिने प्रहरीको रणनीति छ । भक्तपुरतर्फबाट आउने पूर्वराजा समर्थक तीनकुनेमा रोकिनेछन् ।
भक्तपुरतिरबाट आउने समाजवादी मोर्चाका समर्थक सवार गाडीलाई प्रहरीले कोटेश्वरबाट बालकुमारी तर्फ डाइभर्सन गरेर पठाउने भएको छ । एसएसपी खनाल भन्छन्, ‘मुठभेड हुन नदिन समाजवादी मोर्चा समर्थकलाई कोटेश्वरबाट बालकुमारी पुल हुँदै भित्रको बाटोबाट प्रदर्शनीमार्गतर्फ पठाउँछौँ ।’
समाजवादी मोर्चाले बबरमहलबाट माइतीघर र त्रिपुरेश्वर हुँदै प्रदर्शनीमार्गसम्म जुलुस निकाल्ने गरी रुट तय गरेको छ । कुपण्डोलमा भेला हुने मोर्चाका समर्थक त्रिुपरेश्वरबाट घुमेर प्रदर्शनीमार्ग पुग्नेछन् । सोह्रखुट्टेबाट पकनाजोल र जमल हुँदै त्रिचन्द्रतर्फ जुलुस निकाल्न मोर्चालाई जिल्ला सुरक्षा समितिले अनुमति दिएको छ । मोर्चाले १ हजार स्वयंसेवक परिचालन गर्ने सुरक्षा निकायलाई जानकारी गराएको छ ।




