बुटवल/रुपन्देहीको सैनामैना–४ मुर्गियामा प्रथम सुनगाभा सैनामैना गोल्ड कप–२०८१ सुरु हुँदै छ । सैनामैना फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगिताको उद्घाटन खेल आयोजक र गोर्खा ब्वाईज क्लब बीच प्रतिस्पर्धा हुँदै छ । सैनामैना मैना रंगशालामा हुने प्रतियोगिता दिउँसो १ बजेदेखि सुरु हुने संयोजक अशोक खड्काले जानकारी दिए ।
प्रतियोगितामा दुई विभागीय टोली, आयोजक क्लब र एक भारतीय क्लबसहित १० समुहको सहभागिता रहेको संयोजक खड्काले जानकारी दिए । स्तनीय खेलाडीको उत्पादन तथा राष्ट्रिय खेलाडीहरुलाई सहभागी गराउने उद्देश्यसहित सैनामैनामा पहिलो पटक गोल्ड कपको आयोजना गर्न लागिएको क्लबका अध्यक्ष प्रविन भारीले बताए । अखिल नेपाल फुटबल संघ (एन्फा)सँग आधिकारिक अनुमति प्राप्त गरी सोही नियमानुसार प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । सुनगाभा पब्लिक स्कुल मुर्गियाको टाइटल स्पोन्सर रहेको प्रतियोगिताको विजेताले नगद ७ लाख रुपैयाँ पुरस्कार राशीसहित गोल्डकप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने उनले बताए । यसैगरी उपविजेता समुहले नगद ४ लाखसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । नकआउटका आधारमा हुने प्रतियोगिताको अन्तिम चारमा पुग्ने अन्य २ समुहलाई समान ८० हजार रुपैयाँ नगद राशी प्रादन गरिने अध्यक्ष भारीले जानकारी दिए ।

सैनामैना नगरपालिकाको आर्थिक सहयोग तथा संरक्षकत्वमा हुने प्रतियोगिता सञ्चालनका लागि एन्फाकै प्राविधिकहरुबाट खेलहरु सञ्चालन हुने भएका छन् । बढीमा ५ जना विदेशी खेलाडी समेत सहभागी गराउन पाइने प्रतियोगितामा खेलाडीहरुका लागि १ लासम्मको दुर्घटना बीमा समेत गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न ६० लाख रकम खर्च अनुमान गरिएको छ । प्रतियोगितामा दर्शकका लागि सिजनल पास (सबै प्रतियोगिता हेर्न मिल्ने)का लागि एक हजार रुपैयाँ र साधारणतर्फ १ सयदेखि २ सय सम्म निर्धारण गरिएको छ । यसैगरी वृद्ध, अशक्तहरुलाई निःशुल्क प्रवेशको व्यवस्था तथा विद्यार्थीका लागि टिकट दरमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । विगत वर्षहरुमा नगरस्तीय प्रतियोगिता गर्दै आएको मुर्गिया फुटबल क्लबले यस सिजनमा रुपन्देहीमा हुने तिलोत्तमा गोल्डकप पछिकै सर्वाधिक राशीको गोल्ड कपको रुपमा विकास गर्नेगरी यो प्रतियोगिता गर्न लागिएको अध्यक्ष भारीले जानकारी दिए ।




