चितवन/लोकतन्त्रको सस्थागतका लागि अर्थतन्त्रको सृदृढीकरणमा जोड दिनुपर्ने विज्ञले सुझाव दिएका छन् । एफइएसले (मंगलबार)भरतपुरमा आयोजना गरेको आर्थिक विकासको माध्यमबाट लोकतन्त्रको सुदृढीकरण विषयक अन्तरक्रिया कार्यक्रममा कार्यपत्र पेश गर्दै अर्थविज्ञहरुले नेपालको आर्थिक व्यवस्थापनको सुशासनमा समेत चुनौती थपिएको बताएका हुन् ।योजना आयोगका पूर्व उपाध्यक्ष डा.गोविन्दराज पोख्रेलले नेपालले आर्थिक विकासमा हिसाबले आंशिक प्रगती गरेपनि सन्तोष मान्ने स्थिती नरहेकोे बताए । ‘नेपालको खर्च गर्ने क्षमता प्रतिवर्ष घटिरहेको छ । विकासका दृष्टिकोणले सन्तोष मान्ने अवस्था होइन्’उनले भने ‘नेपालको राजनीति र व्यवसायबीच सम्बन्ध सुमधुर नहुँदा पनि आर्थिक विकास भइरहेको छैन ।’
उनले कानुन र योजना बनाउँदा विकासमा ध्यान दिएर बनाउनुपर्ने बताए । ‘नेपालमा एक करोड कमाउनेले ३९ लाख कर तिर्नुपर्छ । भारतमा ३० लाख तिरे पुग्छ’, नेपालको कर प्रणालीको अवस्थालाई चित्रण गर्दै डा.पोख्रेलले भने ‘धेरै कर तिर्नुपर्ने भएपछि मानिसहरु नेपाल किन बस्ने ।’ नेपालमा पुँजिवाद विरुद्ध बोल्नुभन्दापनि सुधार गर्दै लैजानुपर्ने बताउँदै उनले उद्योगमा लगानी बढाउने वातावरण बनाउन सरकार लाग्नुपर्ने धारणा राखे ।एफइएस नेपालका चन्द्र बहादुर भटट्ले नेपालको अर्थतन्त्र र लोकतन्त्रमा समस्या देखिएको बताएका छन् । ‘अर्थतन्त्र जति कमजोर हुन्छ । लोकतन्त्र त्यति नै कमजोर हुन्छ,’ उनले भने ‘नेपालको अर्थतन्त्र पछिल्ला वर्षमा कमजोर हुँदै गएको छ ।’ कृषि विज्ञान विभागकी साहायक प्राध्यापक डा रमा पौडेलले राजनीतिक दलले दिगो विकासका लागि योजना बनाएर काम गर्नुपर्ने बताइन् । कृषिबाट नेपालको आर्थिक विकास सम्भव रहेको बताउँदै उनले राज्यले कृषिमा लगानी बढाउनुपर्ने बताइन् । नेपालको निर्वाचन प्रकृया मङ्गो बन्दै गएको बताउँदै उनले लोकतन्त्र समेत खतरामा पर्ने स्थिति रहेको बताइन् । ‘नेपालमा निम्न स्तरको मानिस चुनाव लड्न सक्ने अवस्था छैन । पैसाले चुनाव जितेर गएका व्यक्तिले लोकतन्त्र कति सुरक्षित होला?,’ उनले प्रश्न गर्दै भनिन् ‘सही मान्छे छनोटका लागि नलाग्ने हो भने लोकतन्त्र धरासायी बन्छ ।’
काठमाडौँ विश्वविद्यालयका प्रोफेसर विनय मिश्रले आर्थिक विकासका लागि संघियाता आवश्यक नरहेको बताए । संघियता माग गर्ने व्यक्तिहरु नै संघमा केन्द्रित भएको भन्दै प्रदेश र केन्द्रको अधिकार स्थानीय तहमा दिनुपर्ने बताए ।
नेकपा एमाले चितवनका नेता कृष्णप्रसाद भुर्तेलले राजनीतिक पार्टीले जनताको समस्या समाधान हुनेगरी काम गर्न नसकेको बताए । विभिन्न कानुनका कारण विकास निर्माणमा समस्या भएको भन्दै उनले विकास हुनेगरी कानुन बनाउन सरकार लाग्नुपर्ने बताए ।
उद्योग वाणिज्य संघ चितवनका सदस्य इमान्दु बरालले उद्योग खोल्ने व्यक्तिलाई राज्यले प्रोत्साहन गर्न नसक्दा यहाँको विकास हुन नसकेको बताए । ‘विदेशमा उद्योग धन्दा खोल्ने व्यक्तिलाई प्राथमिकता दिइन्छ,’ उनले भने ‘यहाँ उद्योग खोल्नका लागि घुस खुवाउनु पर्छ ।’
कार्यक्रममा प्राध्यापक संघका केन्द्रिय उपाध्यक्ष अन्नतराज ढुगांना , विरेन्द्र क्याम्पस भरतपुरमा अध्यापन गर्नुहुने , सुरक्षा रेग्मी सापकोटा नेपाली कांग्रेस चितवन महिला विभाग प्रमुख कलावती भटराई नेकपा मावोवादी चितवनका नेता सुमन बराल ,राप्रपा चितवनका रास्वपा चितवन सचिव विशाल कोइराला चितवन च्याम्बरका विशाल भटटराई ,सहकारी संघ चितवनका लेखा विभागका आनन्द राउत, शिक्षक तेजेन्द्रप्रसाद भूषाल, सामाजीक व्याक्तित्व रविभद्र शर्मा खनाल लगायत उद्योगी , व्यावसायि ,शिक्षक, राजनीतिज्ञ हरु १ सय १३ जनाले सहभाागिता जनाएका थिए । सो क्रममा उनीहरुले लोकतन्त्र आएपनि राजनीतिक दलले देशलाई आर्थिक समृद्धि तर्फ अगाडि बढाउन नसकेको बताएका थिए । कार्यक्रमको सहजिकरण बालकुमारी क्पापसमा अध्यापनरत शारदा खनाल , पत्रकार रविन सुवेदी र मिस नेपाल २०२३ की फाइनलिस्ट सुधा देवकोटाले गरेका थिए । कार्यक्रममा एफइएस नेपालका कार्यक्रम संयोजक समिरा पौडेल , एफइएस नेपालका दिपिका ढकालको उपस्थिती रहेको थियो ।




