भरतपुर/चितवन उद्योग संघको चितवन प्रदर्शनी केन्द्रमा सञ्चालन भएको प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ को अन्तिम दिन मनकामना अस्पताल प्रा.लि.को सहकार्यमा “सामाजिक सुरक्षा कोषको अद्यावधिक व्यवस्था र आवद्ध रोजगारदाता तथा योगदानकर्तालाई हुने लाभको क्षेत्र” विषयक अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
चितवन उद्योग संघका कार्य बाहक अध्यक्ष मदन घिमिरेले स्वागत गर्नुभएको कार्यक्रममा सामाजिक सुरक्षा कोषका प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि अधिकारीले सामाजिक सुरक्षा कोषमा आवद्ध भई श्रमिकहरुको लागि निरन्तर काम गरिरहेका संस्थाहरुले श्रम ऐनको पालना गरेको बताउनुभयो । उहाँले आफू आवद्ध संघ–संस्थाहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध भई कोषको सेवा लिन समेत आग्रह गर्नुभयो ।
छलफल कार्यक्रममा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगाले, सहजीकरण गर्ने संस्था मनकामना अस्पताल प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत दिलिप घिमिरे, उद्योग वाणिज्य संघ चितवनका बरिष्ठ उपाध्यक्ष चिरञ्जीवि सुवेदीले सामाजिक सुरक्षा कोषका विषयमा आ–आफ्ना भनाईहरु राख्नुभएको थियो ।
छलफल कार्यक्रममा सामाजिक सुरक्षा कोषका उप निर्देशक रोहित रेग्मीले कोषका विषयमा र सहजीकरण संस्था, मनकामना अस्पतालकी सञ्चालक तथा नर्सिङ प्रशासन प्रमुख कविता खतिवडाले योगदानकर्ताले स्वास्थ्य उपचारमा पाउने सेवाको विषयमा आफ्नो कार्यपत्र प्रस्तुतिकरण गर्नुभएको थियो ।
चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेलले सञ्चालन गर्नुभएको छलफल कार्यक्रममा चितवन उद्योग संघ तथा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका पूर्व अध्यक्ष, पदाधिकारी एवम् सदस्यहरु, विभिन्न संघ–संस्थाका प्रमुख एवम् प्रतिनिधिहरु, दुग्ध कृषक, सहकारी तथा उद्यमीहरुको सहभागिता रहेको थियो ।

Advertisement




