हेल्प नेपाल स्पोर्ट्स क्लबले नेपाली महिला राष्ट्रिय भलिबल खेलाडीद्वय रेश्मा भण्डारी र निरूता ठगुन्नालाई ब्रान्ड एम्बासडर नियुक्त गरेको छ । सेन्ट्रल एसियन (काभा) पुरुष अन्तराष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप २०२४ मा नेपालको प्रतिनिधित्व गर्न लागेको क्लबको प्रचार प्रसारको मुख्य उद्देश्यले भण्डारी र ठगुन्नालाई ब्रान्ड एम्बासडर नियुक्त गरेको हो । हेल्प नेपालले २२- २९ मंसिरसम्म राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्ड हलमा हुन लागेको सेन्ट्रल एसियन (काभा) पुरुष अन्तराष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप खेल्दै छ ।
‘रेश्मा र निरूतालाई हामीसँग आबद्ध हुन अनुमति दिने सशस्त्र प्रहरी बल नेपाल र त्यसअन्तर्गतको नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालयप्रति हामी आभारी छौँ,’ क्लबले भनेको छ । हेल्प नेपालले आफ्नो मिसन सफल पार्न सहकार्य गरेकोमा भलिबललगायत नेपाली खेलकुदको विकासका लागि अहोरात्र खटिएर अमूल्य भूमिका निर्वाह गरिरहेको सशस्त्र प्रहरी बल नेपाललाई धन्यवाद पनि दिएको छ ।




