चितवन/विश्व मधुमेह दिवस चितवनमा विभिन्न कार्यक्रम गरी मनाईएको छ । विभिन्न संघ संस्थाले, वाकाथुन, प्रभातफेरी, निःशुल्क मधुमेह परीक्षण लगायतका कार्यक्रम गरी दिवस मनाएका हुन् । भरतपुर महानगरपालिका वडा नं ३ को कार्यालय , चितवन अस्पताल प्रा लि , चौबिस्कोठी र राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपाल चितवन जिल्ला समितिको आयोजना विश्व मधुमेह दिवस मनाइएको हो। nदिवसको अवसरमा आज बिहान ७: ३० बजे देखि ११ बजेसम्म रगतमा सुगर मात्रा निःशुल्क परीक्षण, ११ बजेदेखि मधुमेहको बिरामीलाई मधुमेह रोग विषेशज्ञ चिकित्सकद्वारा नी शुल्क परीक्षण , मधुमेहको बिरामीलाई परामर्श र शैक्षिक आयोजना गरिएको थियो। डा सन्दिप पाण्डे (फिजिसियन), डा प्रतिक न्यौपाने (फिजिसियन), डा रामकृष्ण पौडेल (मेडिकल अफिसर) र डा अश्विन सापकोटा (मेडिकल अफिसर) ले बिरामीको परीक्षण गरेको आयोजकले जनाएका छन् ।
कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले ब्लु सर्कल वाकाथुन कार्यक्रम आयोजना गरेको छ । अस्पताल प्राङ्गढबाट शुरु भएको वाकाथुन सप्तगण्डकी क्याम्पस, अस्पतालरोड, चौबीसकोठी हुँदै पुनः अस्पताल पुगेर समापन गरिएको छ ।
वाकाथुन कार्यक्रममा अस्पतालका चिकित्सक, विद्यार्थी, मधुमेह समाजका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरु सहभागी हुनुहुन्थ्यो । सो अवसरमा अस्पतालका डा।प्रेरणा बंशलले मधुमेह सम्बन्धी जनचेतना जगाउन कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले नियमित व्यायाम र सन्तुलित भोजनले मधुमेह नियन्त्रण गर्न सकिने जानकारी दिनुभयो ।अस्पतालको डाईबिटिज स्क्रिनिङ क्लिनिकमा निःशुल्क मधुमेह परीक्षण र परामर्श समेत प्रदान गरिएको छ ।
यसैगरी लायन्स क्लब अफ चितवन चौतारी लगायतका १३ वटा लायन्स क्लबहरुको आयोजनामा रगत परीक्षण तथा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । भरतपुरको चौबीसकोठीबाट शुरु भएको प्रभातफेरी अस्पतालरोड जिल्ला प्रहरी कार्यालय, दूरसञ्चार रोड हुँदै पुनः चौबीसकोठीमा पुगेर समापन भएको थियो ।
भरतपुर सामुदायिक अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा.महेन्द्र अग्रहरीको नेतृत्वमा भएको कार्यक्रममा २५० जनाभन्दा बढीको रगत परीक्षण गरिएको थियो । चौबीसकोठीमा आयोजित रक्तपरीक्षण कार्यक्रममा चालकहरुलाई लक्षित गरिएको हो । अटो, ट्याम्पो लगायतका साना सवारीसाधनका चालकहरुको रगत परीक्षण गरिएको डा। अग्रहरीले जानकारी दिनुभयो ।




