चितवन/बागमती प्रदेश सरकार मातहतको कृषि विकास कार्यालयहरुमा बजेटको संख्या घट्दो अबस्थामा रहँदा कृषि कार्ययोजनामा समस्या भएको छ । अघिल्लो आर्थिक बर्ष र यो बर्षमा समेत बिस्तारै बजेट घट्दै गएको हो । यो संगै कार्यक्रम कार्यान्वयन कार्यविधि समयमै स्वीकृत नहुँदा चालू आर्थिक बर्षका लागि छनौट भएका कार्यक्रमहरु अझैसम्म अघि बढ्न सकेका छैनन् ।
गत आर्थिक वर्ष २०८०/८१ मा १३ करोड रूपैयाँ बजेट पाएको कृषि विकास कार्यालयले चालू आर्थिक बर्ष २०८१/८२ का लागि ११ करोड ७९ लाख रूपैयाँ पाएको छ । त्यसमध्ये पुँजीगत बजेट र कृषि विकास बजेट जम्मा १० करोड दुई लाख छ । भने प्रशासनिक तथा उपभोग बजेट एक करोड ७७ लाख रूपैयाँ रहेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट ९ लाख ५० हजार रूपैयाँ विनियोजन भएको छ । आर्थिक बर्ष २०७९/८० मा १४ करोड १३ लाख रूपैयाँ विनियोजन भएको थियो ।
कृषि विकास कार्यालय चितवनका योजना अधिकृत निर्मल पौडेलले प्रदेशले कार्यक्रम कार्यान्वयन कार्यविधि हरेक वर्ष बनाउने गरेको बताउनुभयो । यसपटक एकीकृत योजना कार्यान्वयन कार्यविधि बनाउँदै गरेकाले आउने वर्षहरुमा यस्तो समस्या नहुने उहाँको भनाइ छ । ‘प्रदेशले कार्यक्रम कार्यान्वयन कार्यविधि अझै स्वीकृत नगरेकाले सार्वजनिक गर्ने कार्यक्रम ढिलो भएको हो । कार्यविधि स्वीकृत भएर आएपछि कार्यक्रमहरु अघि बढ्छन्’, उहाँले भन्नुभयो ।
चालू आवमा छनोट भएका कृषि प्रसार तथा तालिम कार्यक्रमका लागि ९ लाख, बाली संरक्षण कार्यक्रमलाई ७ लाख, बाली विकास तथा बीज वृद्धि कार्यक्रमलाई ९४ लाख, कृषि विकास तथा बालीविशेष प्रवर्द्धन कार्यक्रमलाई ७ करोड ३४ लाख र योजना, कृषि तथ्याङ्क तथा बजार विकास कार्यक्रमलाई ७२ लाख रूपैयाँ बजेट प्राप्त भएको पौडेलले जानकारी दिनुभयो ।




