पार्वतीपुर/चितवनको भरतपुर महानगरपालिका २१ पार्वतीपुरमा वृृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । भरतपुर महानगरपालिका २१ नम्बर वडा कार्यालयको आयोजना तथा आमा बच्चा स्वास्थ्य नेपाल भरतपुर १० चितवनको सह–आयोजक र मनकामना अस्पताल प्रा.लि.भरतपुर १० चितवनको समन्वयमा शिविर सम्पन्न भएको हो ।

जेष्ठ नागरिक ९२ बर्षिया सुर्यप्रसाद रेग्मीको प्रमुख अतिथि, तथा वडा नम्बर २१ का वडाध्यक्ष कृष्ण कुमार श्रेष्ठको अध्यक्षतामा शिविर उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । फिजिसियन डा. सञ्जोक कडेँल विशिष्ट अतिथि रहनुभएको थियो । फिजिसियन डा. सञ्जोक कडेँल र डा.मनोज जोशी लगायतका स्वास्थ्यकर्मीहरुबाट स्वास्थ्य जाँच गरिएको शिविरमा पाँच सय जनाले स्वास्थ्य सेवा लिएको पब्लिक रिलेसन अफिसर सतिस ढकालले जानकारी दिनुभयो । शिविरमा थाइराइड, सुगर, प्रेसर, पिसाव, महिलाहरुको पाठेघरको मुखको क्यान्सर लगायत रोगको निशुल्क जाँच गरिएको थियो । आमा–बच्चा स्वास्थ्य नेपाल भरतपुरका अध्यक्ष कविता खतिवडाले सञ्चालन गर्नुभएको शिविरको व्यवस्थापन मार्केटिङ्ग म्यानेजर रमेश पाण्डेले गर्नुभएको थियो ।





