खैरहनी/चितवन उद्योग संघ, खैरहनी समिति, महिला उद्यमी मञ्चको आयोजनामा “मेरो दृष्टिकोण तनावमुक्त, हिंसामुक्त र अपराधमुक्त समाज निर्माण गर्ने हो” भन्ने उद्देश्यका साथ द आर्ट अफ लिभिङको ६ दिने खुशी कार्यक्रम (ह्याप्पीनेस प्रोगाम)को शुभारम्भ गरिएको छ ।
कार्यक्रमका प्रमुख प्रशिक्षक पवन नेपाललाई खैरहनी नगरपालिकाकी उपप्रमुख कविता उप्रेती, चितवन उद्योग संघ, खैरहनी समिति, महिला उद्यमी मञ्चकी अध्यक्ष जिनिता बस्नेत र चितवन उद्योग संघ, खैरहनी समितिका अध्यक्ष युवराज पाठकले संयुक्त रुपमा स्वागत गर्नुभएको थियो ।
६ दिनसम्म चल्ने शिविरमा प्रमुख प्रशिक्षक पवन नेपालले मनको शान्ति, मानसिक स्पष्टता, शारीरिक स्वास्थ्य सुधार, सहज ज्ञान युक्त कौशलहरू, व्यक्तिगत मन्त्रमा आधारित ध्यान प्रविधि, दिमागमा अशान्ति पैदा गर्ने कारकहरू र उपायहरू पहिचान, विभिन्न खानाहरूले दिमाग र विचारहरूलाई कसरी असर गर्छ भन्ने लगायतका शीर्षकमा प्रशिक्षण गर्नुहुनेछ । कार्यक्रममा प्रशिक्षक अन्जु शर्मा लगायत द आर्ट अफ लिभिङका सदस्यहरुको समेत सहभागिता रहेको थियो ।
बिहान ५ बजेदेखि ८ बजेसम्म चल्ने कार्यक्रम असार १ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा एकसय ५० भन्दा बढीको सहभागिता रहेको चितवन उद्योग संघ, खैरहनी समिति, महिला उद्यमी मञ्चकी अध्यक्ष जिनिता बस्नेतले जानकारी गराउनुभयो ।





