खैरहनी /माच्छ्रापुच्छ्रे बैंकले आफ्नो १०५ औ शाखा खैरहनीको पर्सामा उदघाटन गरेको छ । केहि समय पहिलेबाट नै पर्सामा कारोबार सुरु गरिसकेको बैँकको बिहिबार एक कार्यक्रमको आयोजना गर्दै औपचारिक उदघाटन गरेको हो । खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरी र बैँकका अध्यक्ष बिरेन्द्र प्रसाद महतोले संयुक्त रुपमा रिबन काटेर बैँकको उदघाटन गरे । सो अवसरमा खैरहनी नगरपालिकाकी उपमेयर सुनिता थपलियाले बैँकको २४ घण्टे एटिएम सेवाको समेत उदघाटन गरिन ।
कार्यक्रममा मेयर चौधरीले बैँकले नाफा आर्जन गर्नेमात्र नभई सेवाग्राहिको हित र सफलतामा ध्यान दिनुपर्ने बताए । उनले सेवाग्राहिले रकम जम्मा गर्दा पाइने ब्याज र ऋण लिदाँ तिर्नुपर्ने ब्याजको अन्तर धेरै हुने गरेको बताउदैँ त्यसतर्फ ध्यान दिन आग्रह गरे । नगरपालिकाले विभिन्न बैँकलाई कार्यबिभाजन गरेर कारोबार गर्ने उनले बताए । उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्र सापकोटाले सरल र सहज रुपमा सेवा प्रवाह गरेमा समग्र उद्योगी ब्यवसायीले साथ दिने बताए । बैँकका अध्यक्ष बिरेन्द्र प्रसाद महतोले सम्बृद्ध नेपाल निर्माणमा बैँकले भुमिका खेल्ने बताए । उनले हरेक नागारिकको पहुँचमा बैँकको सेवा पुर्याउने र सर्वसधारणको आर्थिक उन्नतिमा साथ दिने बताए ।
खैरहनी नगरपालिकालाई सम्बृद्ध बनाउन नगरसँग हातेमालो गरेर अघि बढ्ने पर्सा शाखाका प्रबन्ध भानुभक्त अधिकारीको भनाई छ । कार्यक्रममा वडा नं। ८ को अध्यक्ष टेक बहादुर थापा क्षेत्री, वडा नं। ९ का अध्यक्ष होम कुमार पुन, राप्ती नगरपालिका वडा नं। ९ का अध्यक्ष देबेन लामा, इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख धनदेव साउद लगायतको उपस्थिति रहेको थियो । काठमण्डौको लाजिम्पाटमा मुख्य कार्यालय रहेको बैँकले देशका विभिन्न १४३ स्थानमा सेवा सुरु गरिसकेको छ । बैकले केहि दिनअघि मात्रै १९ औ बार्षिकोत्सव मनाएको थियो ।




