राजु भट्ट, असार ०३
माडी/चितवन उद्योग संघले स्वदेशी उद्योगहरुको प्रबर्धनमा सहयोग पुग्ने गरी महत्वपूर्ण विषय वस्तुलाई समाविष्ट गरी नीतिगत राय सुझाब तथा स्थानीय नगरपालिकाको राजश्व परामर्श समितिलाई दिईने राय सुझाव माडी नगरपालिकाका प्रमुखलाई पेश गरेको छ ।
पेश गरिएको नीतिगत राय सुझावहरुमा नगरपालिकामा माटो परीक्षण प्रयोगशाला स्थापना गरी व्यवसायिक कृषि उत्पादनका लागि नगरपालिका भित्र विशिष्टिकृत अर्गानिक पकेट क्षेत्र पहिचान गरी सामुहिक कृषि उपज उत्पादनको थालनी गर्नुपर्ने र कृषि उपजको न्यूनतम लागत मूल्य निर्धारण गरी सो मूल्य भन्दा कममा बिक्री गर्नुुपर्ने अवस्थामा बिमाबाट पूर्ति गर्ने व्यवस्था गर्नुपर्ने, कृषकका बिक्री नभएका कृषि उपज न्युनतम समर्थन मूल्यमा खरिद गरी भण्डारण गर्न नगरपालिकामा खाद्यन्न भण्डार निर्माण गर्ने र बिउविजन बैंकको स्थापना गरी बिउविजनको सहज आपूर्ति हुने व्यवस्था गर्नुपर्ने, आधिकारिक खरिद विजकका आधारमा व्यवसायिक किसानहरुलाई विउ र विरुवा खरिदमा अनुदान र प्राङगारिक मल तथा कृषि उद्योगको प्रकृतिको आधारमा विद्युत महशुलमा ५० देखि १०० प्रतिशत छुटको व्यवस्था गर्नुपर्ने, रोजगारी अभिवृद्धिका लागि सिपमूलक तालिमको व्यवस्था गर्नुपर्ने, खाद्य गुणस्तर परीक्षण, विषादीको अवशेष परिक्षण प्रयोगशाला स्थापना गर्नुपर्ने, कृषि सहकारी मार्फत भण्डार निर्माण गरी सञ्चालन गर्ने व्यवस्था हुनुपर्ने, उद्यमशिलता विकास कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्नुपर्ने, कोरोना संक्रमणका कारण रोजगारी गुमाएका व्यक्तिहरुलाई ज्ञान, सीप, अनुभव, शैक्षिक प्रमाणपत्र र परियोजना प्रस्तावनाको आधारमा अनुदानको व्यवस्था गर्नुपर्ने लगायतका विषयहरु समावेश गरिएको थियो ।

माडी नगरपालिकामा आयोजित सुझाव पेश कार्यक्रम चितवन उद्योग संघ माडी इकाई समितिका अध्यक्ष एवं संघका कार्यसमिति सदस्य भोजराज खनालको सभापतित्वमा सम्पन्न भएको थियो । संघका उपाध्यक्ष त्रिलोचन कँडेलले संघले तयार गरेको सुझाव एवं संघका गतिविधिको बारेमा प्रष्ट पार्नुभएको थियो । सुझावलाई चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले प्रस्तुतिकरण गर्नुभएको थियो ।
सुझाव पेश कार्यक्रममा माडी नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकाल, उपप्रमुख तारा काजी महतो, माडी नगरपालिकाका राजश्व शाखा प्रतिनिधि सन्तोष सुवेदी, संघका पूर्व अध्यक्ष ताराप्रसाद पौडेल, उपाध्यक्षहरु दुर्गा प्रसाद भण्डारी, युग राज वस्ती, कार्यसमिति सदस्य मदन चिरञ्जीवी पोखरेल, डा.प्रमोद लामिछाने, संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, सञ्चार अधिकृत राजु भट्ट, माडी इकाई समितिका सचिव रमेश नेपाली, सदस्यहरु प्रेमनाथ भुषाल, घनश्याम चौधरी, कुलप्रसाद महत्तो, बिष्णुकुमारी क्षेत्रीलगायतको उपस्थिति रहेको थियो ।




