नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामा साढे १२ अर्ब रुपैयाँको बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले चालु आवका साउन, भदौ, असोज र कात्तिकमा एक अर्ब ३६ करोड १२ लाख युनिट बिजुली निर्यात गरी १२ अर्ब ५० करोड आठ लाख रुपैयाँ आम्दानी गरेको छ ।बिजुली निर्यात गएको आव २०७९/८० को यही अवधिको तुलनामा चार अर्ब ८६ करोड ४४ लाख रुपैयाँले बढी हो । गएको आवको पहिलो चार महिनामा प्राधिकरणले ९८ करोड ३८ लाख युनिट बिजुली निर्यात गरी सात अर्ब ६३ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको बिजुली यस वर्ष गएको जेठ २८ गतेदेखि भारतीय बजारमा बिक्री शुरु गरेको थियो । प्राधिकरणले साउनमा दुई अर्ब १४ करोड ७६ लाख, भदौमा तीन अर्ब ४७ करोड ८५ लाख, असोजमा चार अर्ब १७ करोड ७७ लाख र कात्तिकमा दुई अर्ब ६९ करोड ७० लाख रुपैयाँको बिजुली निर्यात गरेको छ । चार महिनाको समग्र औसत बिजुली बिक्री दर प्रतियुनिट नौ रुपैयाँ १८ पैसा छ । गएको वर्ष यही अवधिको समग्र औसत बिक्री दर प्रतियुनिट सात रुपैयाँ ७६ पैसा थियो ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार महिनाको अवधिमा बिजुली निर्यातबाट आम्दानी भएको रकमले देशको विदेशी मुद्रा सञ्चिति र नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न योगदान पुगेको बताउनुभयो ।




