भरतपुर/भरतपुर महानगरपालिका १७ नम्बर वडा कार्यालयको आयोजनामा नि:शुल्क विभिन्न सीपमुलक तालिमको बुधबार उद्घाटन भयो। । भरतपुर महानगर १७ नम्बर वडा कार्यालयको हलमा आयोजित उद्घाटन समारोहमा भरतपुर महानगरका उपमेयर चित्रसेन अधिकारी र वडाध्यक्ष ललितमान तामाङले संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गरेका हुन् । दशैं सकिए लगत्तै शुरु हुने उक्त कार्यक्रम दुई महिना बढी चल्ने छ । वडा नम्बर १७ भित्र रहेका विभिन्न १८ वटा टोल सुधार समितिले चयन गरेका घरपरिवारका १३२ जनाले सो तालिम लिनेछन् । विभिन्न पाँच विधाका तालिम सञ्चालन हुने वडाध्यक्ष ललितमान तामाङले बताए । जस अन्तर्गत हरेक टोल सुधार समितिबाट दुई-दुई जना गरी बेसिक कम्युटर कोर्ष र सिलाई कटाईमा ३६-३६ जना चयन भएका छन् । यो कोर्ष २ महिनाको हुनेछ । त्यस्तै कपाल काट्ने, प्लम्बिङ र इलेक्ट्रिसियन तालिममा २०-२० जना चयन भएका छन् । यो तालिम एकमहिनाको हुनेछ ।

भरतपुर महानगरका उप-प्रमुख चित्रसेन अधिकारीले १७ नम्बरका विपन्न समुदायको उत्थानका लागि यो कार्यक्रम अति नै आवश्यक देखिएको बताए । उनले भने ‘उत्पादन तथा रोजगारीलाई सामाजिक विकासमा निरन्तरता दिन यस किसिमको कार्यक्रमको आवश्यकता थियो ।’ यस तालिमबाट उत्पादित दक्ष जनशक्ती गाउँ टोलमा नै पनि स्वरोजगार हुनसक्ने र परदेश गए पनि हातमा सीप लिएर गएकाले दु:ख पाउने सम्भावना न्यून हुने तर्फ उनको संकेत थियो। अधिकारीले भने ‘यस तालिमबाट दक्ष जनशक्तिको उत्पादन भै उनीहरुको आय आर्जन बढ्ने छ भन्ने विश्वास लिएको छु ।’ उनले आउने दिनमा पनि यस्ता कोर्ष तथा तालिमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । त्यस्तै कार्यक्रममा बोल्दै वडाध्यक्ष ललितमान तामाङले सीप सिकेर सीपसंगै जाँगरका साथ काम गर्छु भन्ने अठोट लिएका केही युवाहरुलाई वडाले नै रोजगारी दिने प्रतिबद्धता जनाए । उनले भने ‘तपाईंहरुमा तीब्र इच्छाशक्ती र जोसका साथ काम गर्छु भन्ने अठोट छ भने ध्यान दिएर सिक्नुस् र सीपमा अब्बल हुनुहोस्, तपाईंहरु खाली बस्नु पर्दैन।’ गाउँ टोलमा इलेक्ट्रिसियन र प्लम्बरको खडेरी लागेको कुरालाई इङ्गित गर्दै उनले भने ‘सीप भएको मान्छेले एक पेट भर्नलाई शिर झुकाउनु पर्दैन ।’ वडाले ल्याएको कार्यक्रममा हरेक वर्ष यसरी नै सीपमुलक तालिमको व्यवस्था गरि गाउँभरी स्वरोजगार युवाको उत्पादन गर्ने वडाध्यक्ष तामाङले बताए। ‘सीप सिकौँ, स्वरोजगार बनौँ’ भन्ने नाराका साथ सीप सिकाउने जिम्मा EATAI एण्ड एग्रो ट्रेनर्स प्रा.लि. गुञ्जानगरले लिएको छ । जुन CTEVTबाट सम्बन्धन प्राप्त प्राविधिक शिक्षालय हो । कार्यक्रममा भरतपुर महानगरका उपप्रमुख सहित १७ नम्बर वडा कार्यालयका जनप्रतिनिधि, भरतपुर महानगरका कार्यपालिका सदस्य गोपाल दराई लगायत स्थानीय टोल सुधारका प्रतिनिधि तथा स्थानीय बासिन्दाहरुको उल्लेखनिय उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण वडा सचिव सञ्जुप्रसाद आचार्यले गरेका थिए ।





