असोज/आज संविधान दिवस । संविधान जारी भएको आठ वर्ष पूरा भएको छ । संविधान दिवसका अवसरमा आज देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गर्दै छन् । टुँडिखेलमा हुने विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनुहुनेछ । संविधान सभाबाट २०७२ साल असोज ३ गते संविधान जारी भएको हो । नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो । संविधान नेपालको मूल कानुन हो । तर यसको कार्यान्वयन पक्ष फितलो भएको भन्दै प्रश्न उठ्न थालेका छन् ।
संविधानले दिएको निःशुल्क शिक्षा, रोजगारी, स्वास्थ्य सेवा, खाद्य सम्प्रभुुत्ता, आवासलगायत दर्जनौँ आधारभूत हकहरूको अनभूति आमनागरिकले अहिलेसम्म पनि गर्न पाएका छैनन् । मौलिक हकका धारा संविधानमा मात्रै सीमित भएको छ । संविधान दिवसका अवसरमा आज सार्वजनिक बिदा दिइएको छ । यसैबीच, संविधान दिवसका अवसरमा शुभकामना दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले संविधान प्रदत्त मौलिक हकको प्रभावकारी कार्यान्वयन, आयातमुखी अर्थतन्त्रलाई विस्थापन गरी राष्ट्रिय अर्थतन्त्रलाई दह्रो र सबल बनाउनु नै आजको मुख्य चुनौती र जिम्मेवारी भएको बताउनुभएको छ । यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यान्वयनमार्फत नागरिकको जीवनस्तरमा आमूल परिवर्तन गर्ने रूपान्तरणकारी अभियानमा रहेको बताउनुभएको छ । उहाँले वर्तमान सरकारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई नागरिकको वास्तविक राज्य व्यवस्थामा परिणत गर्ने अभियान थालेको दाबी पनि गर्नु भएको छ ।




