भरतपुर/चितवन उद्योग संघको आयोजनामा नेपाली जुत्ता घरसँगको सहकार्यमा दशैं लगायतका पर्वलाई लक्षित गरी स्वदेशी उद्योग र उत्पादनलाई प्रबद्र्धन गर्ने हेतुले चितवन प्रदर्शनी केन्द्रमा २०८० असोज ०३ गतेदेखि कार्तिक ०२ गतेसम्म “पर्व विशेष मेला–२०८०” आयोजना गरिने भएको छ । चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले स्वागतसँगै प्रेस विज्ञप्ति मार्फत मेलाको जानकारी गराउनु भएको थियो । प्रेस विज्ञप्तिमा कँडेलले वर्तमान समयमा आर्थिक मन्दीको प्रभावको कारण उपभोगमा गिरावट आई कैयौं उद्योगीहरु उद्यमशिलताबाट नै पलायन भएको यस अवस्थामा स्वदेशी उत्पादनहरुको प्रबद्र्धन गरी आर्थिक गतिविधिलाई थप चलायमान बनाउँदै उपलब्ध भएसम्म स्वदेशी उत्पादनको उपभोगलाई प्रोत्साहन गर्न सहयोग पु¥याउने उद्देश्य अनुरुप पर्व विशेष मेलाको आयोजना गरिएको र मेलामा स्वदेशी जुत्ता चप्पल, खाद्यान्न, लत्ताकपडा, खसी, बोका लगायतका उपभोग्य वस्तुहरु एउटै छानामुनी उपलब्ध गराईने लक्ष्य लिइएको बताउनुभयो ।
मेला अन्तर्गत नेपाली जुत्ता घरसँगको सहकार्यमा स्वदेशी जुत्ता–चप्पलको प्रदर्शनी तथा प्रबद्र्धन मेला हुनेछ भने, लत्ताकपडाको लागि विभिन्न जिल्लाका गार्मेन्ट उद्योगीहरुसँग सहकार्य गरिएको छ । त्यस्तै पर्वको लागि आवश्यक खाद्यान्नहरुको स्टलका लागि स्थानीय उद्योगी, व्यवसायीहरुलाई समेत आव्हान गरिएको समेत विज्ञप्तिमा उल्लेख छ । स्थानीय स्तरमा कृषि तथा पशुपंक्षी पालन व्यवसायमा जोडिएको उद्यमीहरुसँग आवश्यक सहकार्य गरी मेलाको अन्तिम हप्ता दशैंका लागि आवश्यक पर्ने खसी, बोका, भेडा–च्याङ्ग्रा, हाँस लगायतका मासुजन्य उत्पादनहरुको स्टलहरु रहने व्यवस्था गरिने आयोजकले जनाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवम् नेपाल फुटवेयर म्यानुफ्याक्चरर एशोसियसनका अध्यक्ष नानीराज घिमिरेले नेपालमा फुटवेयरको सम्भावना धेरै भएको हुँदा यस्ता खाले मेलाहरुबाट उद्योगीहरुले आफ्ना उत्पादनहरुको बिक्री वितरणमा ठूलो सहयोग पुग्ने बताउनुभयो ।
यसअघि चितवन उद्योग संघको आयोजनामा भएको स्वदेशी जुत्ता–चप्पल प्रदर्शनी तथा प्रबद्र्धन मेला २०७९ बाट आम उपभोक्ताहरुले उत्साहित हुँदै सम्भव भएसम्म स्वदेशी उत्पादन नै उपभोग गर्नुपर्छ भन्ने सन्देश दिएका कारण नै वर्तमान विषम् परिस्थतिमा समेत स्वदेशी जुत्ता–चप्पल उद्योगहरु निरन्तर सञ्चालन गर्न लागिएको नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिनुभयो ।
रोजगारी सिर्जना, राजश्वमा योगदान, आयात प्रतिस्थापन गरी राज्यको आर्थिक समृद्धिका लागि आफ्नो तर्फबाट केही गर्छु भन्दै स्वदेशीमै गरी खान्छु भनी लागेका उद्यमीहरुलाई प्रोत्साहन गर्न आवश्यकता महशुस गरी स्वदेशी उद्योग÷उद्यमशिलताको प्रबद्र्धन गर्नका लागि मेला सहयोगी हुने विश्वास लिएको उपाध्यायको भनाई छ ।
मेलाको माध्यमबाट सम्भव भएसम्म उत्पादक तथा उपभोत्ता र सरोकारवालाहरु बीच प्रत्यक्ष सम्बन्ध स्थापना र उत्पादनको बजारिकरणको प्रवद्र्धन हुनेछ । करीब २ लाख स्वदेशी तथा विदेशी अवलोकनकर्ता÷ग्राहकहरुले भ्रमण गर्ने अनुमान गरिएको मेलामा करीब १० करोडको कारोबार हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।




