नवलपुर/चितवन राष्ट्रिय निकुञ्जले एक वर्षको अवधिमा एक सय ४२ वन्यजन्तुको उद्धार गरेको छ । आर्थिक वर्ष २०७९÷८० मा दुर्लभ वन्यजन्तु पाटेबाघ, अजिङ्गर, एक सिङ्गे गैँडासहित एक सय ४२ वन्यजन्तुको उद्धार गरिएकोे निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले गत वर्ष सबैभन्दा बढी ८६ अजिङ्गरको उद्धार गरिएको जानकारी दिनुभयो । गत वर्ष १९सर्प, १३ चित्तल, छ पाटेबाघ, छ एक सिङ्गे गैँडा , पाँच सङ्कटापन्न अवस्थाको घडियाल गोही उद्धार गरिएको उहाँको भनाइ थियो ।
सामुदायिक वन तथा बस्तीमा गएर मानिसलाई आक्रमण गर्ने बाघलाई निकुञ्जले डार्ट ९बन्दुकमा लठ्याउने औषधि राखेको सुई हानेर० गरेर खोरमा राख्ने गरेको छ । निकुञ्जसँग बाघ राख्ने छ वटा खोर रहेको र अहिले सबै खोरमा उद्धार गरिएका बाघ राखिएको छ । नवलपुर, चितवन, मकवानपुर र पर्सा जिल्लामा फैलिएको निकुञ्जले अधिकांश वन्यजन्तु नवलपुर र चितवनका विभिन्न स्थानबाट उद्धार गरेको हो । रासस




