गोरखा/तीन दिने अचार, जुस र जाम बनाउने तालिम सम्पन्न भएको छ । ओमन चेम्बर अफ कमर्स गोरखाको आयोजना, गोरखा नगरपालिकाको आर्थिक सहयोग तथा चेम्बर अफ कमर्स गोरखाको समन्वयमा मंगलबार अचार बनाउने तालिम सम्पन्न भएको हो । तालिममा ओमन चेम्बर अफ कमर्समा आबद्ध १५ जना महिलाको सहभागिता रहेको छ । तालिममा प्रशिक्षक रेखा शर्मा चौधरीले आचार बनाउने सम्बन्धी प्रशिक्षण दिएका थिए । तीन दिने तालिममा आँप, करेला, मुला, कुखुराको मासु, सुकुटी लगायतका ११ प्रकारका अचार बनाउन सिकाइएको ओमन चेम्बर अफ कमर्स गोरखाका सचिव सुर्य माया श्रेष्ठले जानकारी दिइन् । उक्त अचारमा कुनै पनि केमिकल प्रयोग नहुने उनको भनाइ छ । तालिममा लिचिको जुस र स्याउको जाम बनाएको थियो ।

कार्यक्रममा प्रशिक्षक रेखा शर्मा चौधरीले अचार बनाउने तालिममा सबै जना उत्सुकताका साथ सहभागि भएको बताइन् । चेम्बर अफ कमर्स गोरखाका अध्यक्ष भाइचन्द्र श्रेष्ठले अव महिलाहरु घरमा त्यतिकै बस्नु भन्दा पनि उद्यमी बन्न लाग्नुपर्ने बताए । अचारबाट महिलाहरुलाई व्यवसायिक रुपमा उद्यमी बन्नका लागि तालिम दिएको अध्यक्ष ज्ञानु अधिकारीले बताइन् । तालिम लिएपश्चात सबै जना सफल उद्यमी महिला बन्नुपर्ने उनको भनाइ छ । साथै छिट्टै कोसेली घर संचालनमा ल्याउनुपर्ने समेत उनले जोड दिएका थिइन् । ओमन चेम्बर अफ कमर्स गोरखाका अध्यक्ष ज्ञानु अधिकारीको अध्यक्षता तथा चेम्बर अफ कमर्स गोरखाका अध्यक्ष भाइचन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।




