भरतपुर/बागमती प्रदेश उद्योग परिसंघको आयोजना, इन्स्योर परियोजनाको सहयोग र चितवन उद्योग संघको समन्वयमा उद्योगहरुमा प्रयोग हुने मेशिनहरुलाई कम्प्युटराईज्ड सिष्टममा सञ्चालन गर्न सहयोगी हुने २४ दिने PLC तालिमको समापन भएको छ ।
बागमती प्रदेश उद्योग परिसंघका सदस्य बिष्णु प्रसाद पौडेलको अध्यक्षता सम्पन्न समापन कार्यक्रममा चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष सूर्य प्रसाद न्यौपाने प्रमुख अतिथि रहनुभएको थियो ।
प्रमुख अतिथि न्यौपानेले तालिममा सिकेका सिपलाई व्यवहारमा उतारी तालिमको उद्देश्य पूरा गर्न सम्पूर्ण प्रशिक्षार्थीहरुलाई अनुरोध गर्नुभयो । न्यौपानेले आफूले तालिमबाट लिइएको सीप र दक्षतालाई आ–आफ्ना उद्योग, प्रतिष्ठानहरुमा कार्यान्वयन ल्याई तालिमको सिपलाई भरपुर प्रयोगमा ल्याउन समेत आग्रह गर्नुभयो ।

त्यस्तै इन्स्योर परियोजनाका फिल्ड मनिटर रुपा गुरुङले प्रशिक्षार्थीहरुले तालिममा देखाउनु भएको उत्साहजनक उपस्थिति र धैर्यताले गर्दा तालिम सफल भएको र आगामि दिनहरुमा समेत अझ परिस्कृत खालका तालिमहरु ल्याई उद्यमशिलता विकासमा सहयोग गर्ने आफूहरुको लक्ष्य रहेको बताउनुभयो ।
चितवन उद्योग संघ युवा उद्यमी मञ्चका अध्यक्ष एवम् औद्योगिक पाठशाला विभागका सह–संयोजक सुरेन्द्र कार्कीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा सहभागीहरुको तर्फबाट शशी कुमार भुजेल र सरोज परियारले तालिम निकै उपयोगी भएको र हामीजस्ता अन्य प्राविधिकहरुलाई यस्ता खाले तालिम आवश्यकता भएको बताएका थिए । त्यस्तै तालिम समापन कार्यक्रममा तालिमका प्रशिक्षक इन्जिनियर अनुज कुमार रौनियारले नेपालका धेरैजसो उद्योगहरुमा यस्ता खाले तालिम दिई सकिएको र यस तालिमले पक्कैपनि उद्योगका स–साना समस्याहरुको समाधानका लागि बाहिरी मुलुकबाट प्राविधिकहरु ल्याउने परिपार्टी बन्द गर्न टेवा पुग्ने बताउनुभयो ।
तालिम समापन कार्यक्रममा बागमती प्रदेश उद्योग परिसंघका सदस्य डा.प्रमोद लामिछाने, चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवाल, संघका सञ्चार अधिकृत राजु भट्ट, पाठशाला अधिकृत कल्पना आचार्य लगायत विभिन्न उद्योग, प्रतिष्ठानहरुबाट सहभागी प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।
चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेलले सञ्चालन गर्नुभएको तालिम समापन कार्यक्रमलाई बागमती प्रदेश उद्योग परिसंघका सदस्य बिष्णु प्रसाद पौडेलले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।




