नेकपा एमालेले सरकारले संसदमा प्रस्तुत गरेको आउँदाे आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित हुन नदिने जनाएकाे छ। शनिवार सङ्घीय संसद् भवन नयाँबानेश्वरमा आयोजित पार्टीको संसदीय दलकाे बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम संसदबाट पारित हुन नदिने बताउनुभएको हो । उहाँले सरकारले देशलाई निर्देश गर्ने खालको नीति तथा कार्यक्रम नल्याएकाले स्वीकार गर्न र समर्थन गर्न नसकिने बताउनु भएकाे हाे । अध्यक्ष ओलीले सरकारको नीति तथा कार्यक्रम अस्पष्ट, अन्याेलग्रस्त र दिशाहीन रहेको बताउनु भयो ।
Advertisement
सरकारको नीति तथा कार्यक्रम वार्षिक नीति तथा कार्यक्रम जस्तो नभएको र यसमा देश बनाउने कुनै पनि खालको प्रतिबद्धता नआएको उहाँको दाबी छ । उहाँले भन्नुभयो, ‘यो नीति, कार्यक्रम, नीति कार्यक्रम जस्तै छैन । यस वर्ष हामी कसरी अगाडि बढ्छौँ त्यस सम्बन्धमा यसमा खासै कुरा छैन । यो त वार्षिक कार्ययोजना हो । दुई वर्ष गठबन्धनले तोकेको हुनाले दुई वर्षे कार्यक्रम राखिएको हो कि ? त्यसकारण यो धेरै अस्पष्ट, अन्याेलग्रस्त, दिशाहीन छ ।’
ओलीले देशको अर्थतन्त्रको समस्या समेत सरकारको नीति तथा कार्यक्रममा उल्लेख नभएको दाबी गर्दै आपत्ति जनाउनु भयो ।




