काठमाण्डौं/पोल्ट्री व्यवसायी संघको टोली र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कृषिमन्त्री डा. वेदुराम भुषालबीच मन्त्रालय परिसरमा भेटघाट एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ । टोलीले नवनियुक्त कृषिमन्त्री डा. वेदुराम भुषाललाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए । छलफलमा उद्योगीहरुले पोल्ट्री क्षेत्रका विभिन्न समस्याहरुलाई मन्त्री भुषालले उच्च प्राथमिकताका साथ समाधान गर्ने समेत बताएका थिए ।

छलफलमा अवैध रुपमा ओसारपसार हुने पोल्ट्रीजन्य वस्तुहरु चल्ला, कुखुरा, तयारी मासु र अण्डा नियन्त्रणका लागि विशेष योजना तर्जुमा गरिनु पर्ने, हरेक बर्ष विभिन्न संक्रामक रोगहरुवाट लाखौ कुखुरा मर्दा करोडौ रुपैयाको नोक्सानी व्यर्होन परेको कारण भ्याक्सीन आयातको व्यवस्थाका लागि नितिगत निर्णय गरि कार्यान्वयन गरिनु पर्ने, पोल्ट्रीजन्य वस्तुहरु अवैध रुपमा आयात हँुदा देशको राजश्व भन्सारमा समेत गम्भीर असर परेको विषयमा मन्त्री भुषालसँग छलफल समेत गरिएको थियो ।
त्यस्तै छलफलमा पशुपंक्षीका दानाका लागि आवश्यक पर्ने कच्चापदार्थ मकै र भटमास अयात गर्दा भन्सार र कृषि सुधार शुल्क लाग्ने गरेको हुँदा उक्त शुल्क नलाग्ने व्यवस्था हुनुपर्ने लगायतका विषयमा समेत छलफल भएको थियो । छलफलका क्रममा मन्त्री भुषालले उद्योगी, व्यवसायीहरुले उठाएका जायज मागहरुका सम्बन्धमा आफू र आफू मातहतको मन्त्रालय गम्भीर भएर लाग्ने विश्वास व्यक्त गर्नुभयो ।

भेटघाटमा नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टिकाराम पोखरेल, नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष ऋषिराम पौडेल, उपाध्यक्ष ज्ञानवहादुर विसुराल, महासचिव बलराम सन्जेल, नेपाल कुखुरा व्यवसायी मन्चका अध्यक्ष राजेन्द्र लामिछाने, नेपाल ह्याचरी उद्योग संघका बाग्मती प्रदेशका अध्यक्ष परशुराम अधिकारी, नेपाल लेयर्स कुखुरा पालक संघका सचिव मदन चिरन्जीवि पोखरेल, डा. दिनेश गौतम, खगेश्वर खनाल लगायतका व्यवसायीहरुको सहभागिता रहेको थियो ।

त्यसैगरि टोलीले पशु सेवा विभागका महानिर्देश डा. सम्झना काफ्लेसँग समेत भेटघाट गरेको थियो । महानिर्देशकसँगको भेटमा अवैध रुपमा ओसारपसार हुने पोल्ट्रीजन्य वस्तुहरु चल्ला, कुखुरा, तयारी मासु र अण्डा नियन्त्रण, भ्याक्सीन आयातको व्यवस्था, पशुपंक्षीसँग सम्बन्धीत निति नियमहरु परिमार्जन र संशोधनका अनुरोध गरिएको थियो । महानिर्देशकज्यूले नितिगत रुपमा सुधार गर्नु पर्ने विषयहरु वुँदागत रुपमा पेश गर्न आग्रह समेत गर्नुभएको थियो ।




