भरतपुर/तत्कालिन राष्ट्रिय प्रा.वि.जगन्नाथपुरी २०५१ सालमा कक्षा ५ मा अध्ययन गरी यत्रतत्र छरिएर रहेका भूतपूर्व विद्यार्थीहरुले आफूलाई अक्षर चिनाउने गुरुहरुसँग बालसखा भेटघाट तथा गुरु सम्मान कार्यक्रम २०७९ सम्पन्न गरेका छन् ।
२०५१ सालमा कक्षा ४ बाट ५ कक्षामा प्रथम हुुनुभएका डा.खगेन्द्र काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हालका श्री वालकल्याण आधारभूत विद्यालय जगन्नाथपुरीका सहायक प्राध्यापक छवि पौडेल, तत्कालिन समयमा अध्यापन गराउने १० जना गुरुहरु र १ जना कार्यालय सहायक सहित १२ जनालाई सम्मान गरिएको भूतपूर्त विद्यार्थी कल्पना आचार्यले जानकारी गराउनु भयो ।

कार्यक्रममा गुरु पोषराज पौडेल र भूतपूर्वहरु विद्यार्थी कल्पना आचार्य, धु्रबराज अधिकारीले कविता वाचन समेत गर्नुभएको थियो । कार्यक्रममा सहभागी भई सम्मानित हुँदै गुरुहरुले यस्ता खाले कार्यक्रमले आफूहरुलाई पुर्नतार्जगी, हौसला मिलेको बताएका थिए । उहाँहरुले यस्ता खाले कार्यक्रमहरु निरन्तर भएमा हामीजस्ता पुराना गुरुहरुलाई अहिलेको नयाँ प्रविधिको युगसँग जोड्न मद्दत पुग्ने बताएका थिए । गुरु र विद्यार्थीहरुबीचको भेटघाटले झन सम्बन्ध प्रगाढ हुने समेत बताएका थिए ।
भूतपूर्व विद्यार्थी धु्रबराज अधिकारीले संयोजन गर्नुभएको कार्यक्रमलाई भूतपूर्व विद्यार्थी सुदिप न्यूरेले सञ्चालन गर्नुभएको थियो ।






