निर्वाचन आयोगले ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट अनलाइन प्रणालीमा आधारित मतदाता नामावली ‘प्रि–रजिष्ट्रेशन’ र अद्यावधिक सुरु गरेको छ । गत मङ्सिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन तय भएपछि गत साउन १९ गते स्थगन भएको मतदाता नामावली ‘प्रि–रजिष्ट्रेशन’ र अद्यावधिक प्रक्रिया यही माघ २ गतेबाट सुरु भएको आयोगका सहसचिव तुलसीबहादुुर श्रेष्ठले बताउनुभयो ।
आयोगले तोकिए बमोजिमको प्रमाण लिई मतदाता नामावलीमा नाम दर्ता गराउन आउने नागरिकको फोटोसहितको मतदाता नामावलीको विवरण मतदाता नामावली ऐन, २०७३ बमोजिम सङ्कलन गर्दै आएको छ । कुनै मतदाताले आफ्नो मतदाता नामावलीमा रहेको नाम, ठेगाना, जन्म मिति, नागरिकतासम्बन्धी विवरण, बाबुको नाम, आमाको नाम, पति वा पत्नीको नामलगायतका विवरणमा रहेको त्रुटी सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा संलग्न प्रमाणको आधारमा निर्वाचन अधिकारीले प्राप्त निवेदनमाथि आवश्यक निर्णय गर्नेछ ।
कुनै मतदाताको मृत्यु भएको वा नागरिकता त्याग गरेको वा विवाह वा बसाई सरी गएका कारण मतदाता नामावलीबाट नाम हटाउनको लागि निवेदन प्राप्त भएमा नाम हटाउने सम्बन्धमा जिल्ला निर्वाचन अधिकारीले आवश्यक निर्णय गरी हटाइएका मतदाताको विवरण मतदाता नामावली ऐन, २०७३ को दफा १८ को उपदफा ९३० बमोजिम अद्यावधिक गर्ने प्रयोजनको लागि प्रत्येक महिना निर्वाचन कार्यालय र सम्बन्धित वडा कार्यालयमा सात दिनको समय दिई सूचना टाँस गर्ने व्यवस्थासमेत मिलाउनेछ ।-रासस




