लमजुङ/गण्डकी प्रदेश सभा सदस्य भेष बहादुर पौडेलले सत्तामा जो पुगेपनि जिल्लाको विकास र समृद्धि सवैको साझा एजेण्डा भएको बताउनुभएको छ । लमजुङ सदरमुकाम बेसीशहरस्थित त्रिवेणी क्लवको आयोजनामा शुरु भएको ३० औँ त्रिवेणी कपको उद्घाटन कार्यक्रममा बोल्दै साँसद पौडेलले यस्तो बताउनुभएको हो ।
कार्यक्रममा बोल्दै साँसद पौडेलले भर्खरै प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भई सरकार निर्माणको क्रममा रहेको र सरकार र सत्ता जसको भएपनि जिल्लाको विकास र निर्माण सवै जनप्रतिनिधीहरुको साझा एजेण्डा भएको उल्लेख गर्नुभयो । जिल्लाको विकास निर्माण र समाज रुपान्तरणका लागि जनप्रतिनिधीहरुले स्वार्थभन्दा माथि उठेर प्राथमिकता बनाएर काम गर्नसके आम नागरिकले अपेक्षा गरेअनुसार जिल्लालाई समृद्ध बनाउन सकिने साँसद पौडेलको भनाई थियो ।
त्रिवेणी क्लवका सँस्थापक कोषाध्यक्ष र पुर्व अध्यक्ष समेत रहनुभएका साँसद पौडेलले खेलकुदको विकासका लागि स्तरीय खेल मैदानको आवश्यकता रहेको उल्लेख गर्नुभयो । बेसीशहरस्थित सहजी खेल मैदान विगतमा कुनै एक खेलाडी वा त्रिवेणी क्लव मात्रै नभई स्थानिय पालिका र जिल्लाकै ड्रिम प्रोजेक्टको रुपमा प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
जिल्लाका महत्वपुर्ण खेलकुदजन्य सवै गतिविधी सोहि रंगशालामा हुने भएकोले सो खेल मैदान स्तरोन्नतीका लागि सवैले सरोकार राख्नुपर्ने साँसद पौडेलको भनाई थियो । उहाँले आगामी दिनहरुमा जिल्लामा खेलकुदजन्य गतिविधी र खेल मैदानको विकास र स्तरोन्नतीका लागि आँफु नेतृत्व लिन तयार रहेको धारणा व्यक्त गर्नुभयो ।
आयोजक त्रिवेणी युवाक्लवका अध्यक्ष विनोद गुरुङको अध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिती लमजुङका प्रमुख पुर्णबहादुर गुरुङ, बेसीशहर नगरपालिका प्रमुख गुमानसिँह अर्याल, नेपाली काँगे्रेस जिल्ला कार्यसमिति सचिव एवं क्लवका संस्थापक अध्यक्ष कृष्णबहादुर अधिकारी, नेकपा एमाले जिल्ला कमिटि सचिव सुवाश पौडेल, नेकपा माओबादी केन्द्रका प्रतिनिधी सुनिल सुनार लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
क्लवका उपाध्यक्ष इन्द्र रानाले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रममा क्लवका सचिव प्रविण वाग्लेले सहजिकरण गर्नुभएको थियो । स्वागत मन्तव्यका क्रममा उपाध्यक्ष रानाले त्रिवेणी कप जिल्लाकै सर्वाधिक राशीको प्रतियोगिता भएपनि खेलको स्तर अनुसार खेल मैदान नहुँदा प्रतियोगिता सञ्चालन गर्न समस्या भएको गुनासो गर्नुभएको थियो ।




