लमजुङ/लमजुङ इलेक्ट्रोनिक्स व्यवसायी संघको लमजुङको पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । बेसीशहर ८ कर्पुरेश्वर पार्कमा वनभोज कार्यक्रम सहित भएको साधारण सभा तथा अधिवेशनको उद्घाटन उद्योग बाणिज्य सँघका अध्यक्ष गुणराज सिलवालले गर्नुभएको हो । कार्यक्रमका प्रमुख अतिथि सिलवालले व्यवसाय प्रतिको विश्वास, लगनशिल र परिश्रमी भएर इमान्दारिताका साथ लागि परेमा व्यवसायिक सफलता हासिल गर्न सकिने वताउनुभयो । पछिल्लो समयमा व्यवसायमा देखिएको अस्वस्थ प्रतिस्पर्धाले व्यापारिक क्षेत्रमा नराम्रो प्रभाव पारेको भन्दै उहाँले लगानी अनुसारको प्रतिफल लिन सक्ने वातावरण वनाउन संभावना, सेवाग्राहिका माग र आवश्यकता अनुसार व्यवसाय सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
व्यवसायीहरुको हकहित र अधिकार तथा व्यवसायिक प्रवद्र्धनका निम्ती लमजुङ उद्योग बाणिज्य संघ सधै सहकार्य गरेर अघि बढ्ने लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष सिलवालको भनाई थियो । संघका अध्यक्ष प्रविण कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संचारकर्मी जनक श्रेष्ठ, रेडियो मस्र्याङदीका समाचार प्रमुख बसन्ता भट्ट बानिया, ईलेक्ट्रोनिक्स व्यवसायी संघका निवर्तमान अध्यक्ष नन्दलाल श्रेष्ठ र सदस्य कमल गुरुङले सम्वोधन गर्नुभएको थियो ।
साधारण सभाको उद्घाटन सत्रमा संघका उपाध्यक्ष काशीराम खनालले स्वागत मन्तव्य र सचिव राजिव श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । जिल्लामा रहेर इलेक्ट्रोनिक्स व्यवसाय सञ्चालन गरिरहेका व्यवसायिको समस्या सहजिकरण तथा हकहितका लागि स्थापना भएको संघले सामाजिक तथा मानविय सेवामूलक कार्यहरु समेत गर्दै आएको अध्यक्ष प्रविणकुमार श्रेष्ठले वताउनुभयो । कार्यक्रममा संघका कोषाध्यक्ष भुबराज रेग्मी, संघका पदाधिकारी तथा इलेक्ट्रोनिक्स व्यवसायिहरुको उपस्थिती रहेको थियो ।




