भरतपुर/कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण पूर्व तयारी गर्ने उद्देश्यका साथ नेपाल सरकारले अहिले देशभरी नै लगडाउन गरेको यस अवस्थामा दैनिक रोजगारी गरेर जीवनयापन गरिरहेका विपन्न वर्गका परिवारहरुलाई विभिन्न क्षेत्रबाट सहयोगहरु दिने कार्यहरु पनि चलिरहेको छ ।
यसै सन्दर्भमा भरतपुर–१० स्याउलीबजारस्थित शान्तिमार्ग अरोमाचोकमा स्थानीयवासीहरुको पहलमा बाटोमा हिँड्ने पैदलयात्रीहरुलाई मध्यनजर गर्दै हात धुनको लागि पानी ट्याङ्की जडान गरिएको छ । कोराना भाइरसबाट बच्न हात धुने बानीको विकास होस् भन्ने हेतुले उक्त चोकमा पानीको ट्याङ्की राखिएको हो ।
उक्त कार्यको भरतपुर महानगरपालिका वडा नं. १० का वडा अध्यक्ष एवं भरतपुर महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारीले उद्घाटन गर्नुभएको थियो । उक्त कार्यक्रममा उज्यालो टाईम्सका प्रबन्ध निर्देशक राकेशमान श्रेष्ठ, युवा व्यवसायीहरु सुरेन्द्र पाण्डे, हिरा सापकोटा, त्रिलोचन सापकोटा, मानबहादुर श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

प्रयोगमा ल्याइएको उक्त पानीको ट्याङ्कीलाई इको ट्याङ्की प्रा.लि.का प्रोपाइटर दिनुप बरालले सौजन्य गर्नुभएको थियो ।
कोरोना भाइरस (कोभिड–१९) ले यतिबेला विश्वलाई नै त्रसित बनाएको छ । जसका कारण विश्वकै अर्थतन्त्रले ठूलो क्षति व्यहोर्नु परेको अवस्था छ ।




