काठमाडौं/निर्वाचन आयोगले चुनावी आमसभा गर्दा आचारसंहिताभित्र रहेर कार्यक्रम गर्न राजनीतिक दल र उम्मेदवारहरुको ध्यानाकर्षण गराएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि भोलिदेखि राजनीतिक दलहरुले गर्ने आमसभा, कोणसभा तथा अन्य प्रचारप्रसारका गतिविधि गर्दा पालना गर्नुपर्ने आचरणको विषयमा आयोगले पुनः ध्यानाकर्षण गराएको हो । निर्वाचन आचारसंहिता केन्द्रिय अनुगमन समितिका संयोजकसमेत समेत रहनुभएका आयुक्त रामप्रसाद भण्डारीले प्रचलित कानून, निर्वाचन ऐन, नियम र निर्वाचन आचारसंहीता प्रतिकूल हुनेगरी सभा, समारोहहरु नगर्न आग्रह गर्नुभयो ।
राजनीतिक दलहरुले अर्काको कार्यक्रम बिथोल्न लागेमा र अर्कालाई आरोप–प्रत्यारोप गरेमा कारबाही हुने पनि उहाँले स्पष्ट पार्नुभयो । उहाँले राजनीतिक दलहरुले आमसभा गर्न लागेको कुरा २४ घण्टा अगावै स्थानीय प्रशासनलाई जानकारी दिनुपर्ने प्रावधानलाई कडाइका साथ पालना गर्न पनि सचेत गराउनुभयो ।
उहाँले व्यक्ति विशेषलाई लाञ्छना लगाउने प्रयोजनले कुनै पनि शब्दहरु उच्चारण नगर्न, प्रचारप्रसार गर्ने क्रममा लोगो, स्टिकर लगाएको कपडा, टोपी, क्याप, ज्याकेट, कमिज, गम्छा, झोलालगायतका निर्वाचनसँग सम्बन्धित दलको चिन्ह प्रयोग भएका सामग्रीहरु प्रयोग नगर्न पनि सचेत गराउनुभयो । आयुक्त भण्डारीले निर्वाचन आचारसंहिताले तोकेको ढाँचामा मात्रै पर्चा तथा पम्प्लेट बनाउन पनि आग्रह गर्नुभयो । उहाँले सार्वजनिक ठाउँमा पार्टीको झण्डा तथा पर्चा, पम्प्लेटहरु राख्न नहुने, कुनै पनि कार्यक्रम गर्दा १० वटा भन्दा बढी झण्डा प्रयोग गर्न नपाइने पनि उल्लेख गर्नुभयो ।
उहाँले प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्यक्षतर्फका र समानुपातिकका उम्मेदवारहरुले तोकिएभन्दा बढी गाडी प्रयोग गर्न नहुने स्पष्ट पार्नुभयो । सयौँ बस लिएर आमसभा गर्न नपाइने, बस, ट्रक, ठेलागाढा, ट्रयाक्टरलगायतका साधनहरुको प्रयोग गरेर त्यसमा पर्चा पम्प्लेट टाँसेर, त्यसको अगाडि झण्डा राखेर प्रचारप्रसार गर्न नपाइने उहाँको भनाइ छ ।
निर्वाचन आयुक्त भण्डारीले सरकारी लाभको पदमा बसेर उम्मेदवार हुन र निर्वाचन प्रचारप्रसारमा सहभागी हुन नपाउने भन्दै कोही त्यसरी सहभागी भएको पाइएमा वा देखेमा आयोगलाई सूचना दिन आग्रह गर्नुभयो । निर्वाचन आयोगले जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा आयोगले जारी गरेको निर्वाचन आचारसंहिता अक्षरसः पालना गर्न आग्रह पनि गरेको छ ।
राजनीतिक दल तथा उम्मेदवारहरूले आजदेखि चुनावीसभा गर्न पाउने :
राजनीतिक दलहरूले आज (बिहीबार) देखि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै जुलुस, आमसभा र कोणसभा गर्न पाउने छन् । राजनीतिक दलहरूले आजबाट सञ्चारमाध्यममा निर्वाचनसम्बन्धी सामग्री प्रकाशन तथा प्रसारण गर्न समेत पाउने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार राजनीतिक दलले मंसिर १ गतेसम्म यस्ता कार्यक्रम गर्न पाउने छन् ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसार सम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ । उक्त दफा १३ को (म) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसार अन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था गरिएको छ ।
आचारसंहिता बमोजिम निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफै वा प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेश गर्नुपर्नेछ ।
दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्याली गर्दा बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न पाउने छन् । कुनै पनि धर्मको नाममा प्रचारप्रसार गर्नरगराउन नहुने, उम्मेदवार तथा निजको परिवारलाई कुनै तवरबाट डर, त्रास तथा धम्की दिन नहुने र कुनै साम्प्रदायिक विद्वेष फैलाउने गरी प्रचारप्रसार गर्न वा मत माग्न भने पाइँदैन।




