काठमाडौँ/निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले २५ वर्षे यात्रा पूरा गरेको छ । रजत जयन्ती मनाइरहेको कम्पनीले जहाज थपेर गन्तव्य विस्तार गर्ने योजना बनाएको छ । सन् १९९७ सेप्टेम्बर ११ तारिखका दिनदेखि व्यावसायिक हवाई उडान सुरु गरेको बुद्ध एयरले सन् २०२२ सम्म दुई लाख ६४ हजार नौ सय १८ उडानमार्फत कूल एक करोड ८० लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान गरेको कम्पनीले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
कम्पनीले असोज २५ (अक्टोबर ११ तारिख) मा वार्षिकोत्सव मनाउँदै आएको छ । सुरुआती चरणमा एउटा बीचक्र्याफ्ट १९०० डि मार्फत डोमेस्टिक उडान सुरु गरेको कम्पनीले हाल ७२ सिटे एटिआर जहाजसहित १६ वटा जहाजबाट सेवा दिइरहेको छ । देशका विभिन्न ४३ वटा हवाई रुटमा सेवा प्रवाह गरिरहेको कम्पनीले जनाएको छ ।
बुद्ध एयरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँदिल्लीका लागि दैनिक दुई उडान तथा नेपालगञ्जबाट पनि सोही सङ्ख्याको उडान अनुमति नेपाल नागरिक उड्डयन प्राधिकरणसँग मागेको थियो । अन्तर्राष्ट्रिय उडान एटिर ७२ जहाजबाटै गर्ने कम्पनीले जनाएको छ । मागेकोजति उडान नपाएकाले तत्काललाई कुनै निर्णय नभए पनि भविष्यमा यी गन्तव्यमा उडान गर्ने योजना रहेको प्रबन्ध निर्देशक बस्नेतले बताउनुभयो ।
बुद्ध एयरका निर्देशक आस्था बस्नेत थापाले कम्पनीको व्यावसायिक योजनाबारे जानकारी दिँदै हवाई सुरक्षा र सेवा गुणस्तरमा कुनै सम्झौता नगरिने स्पष्ट पार्नुभयो । उहाँले अथ तीन वटा एटिआर जहाज भित्र्याएर कम्पनीको गन्तव्य विस्तार गर्ने योजना सुनाउनुभयो । बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीका अनुसार अहिले कम्पनीले दैनिक एक सय ५० बढी उडानमार्फत आठ हजार हाराहारी यात्रुलाई सेवा दिइरहेको छ । नेपालमा आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित २० वटा वायुसेवा प्रदायकले उडान सेवा दिइरहेका छन् ।




