राप्ती/चितवन उद्योग संघ राप्ती इकाई समितिको चौंथो बार्षिक साधारण–सभा सम्पन्न भएको छ । चितवन उद्योग संघ, राप्ती इकाई समितिका अध्यक्ष सुदिप कुमार ओलीको अध्यक्षतामा सम्पन्न साधारणसभामा राप्ती नगरपालिकाका नगरप्रमुख शम्शेर लामा प्रमुख अतिथि रहनुभएको थियो । भने, चितवन उद्योग संघ तथा चितवन औद्योगिक विकास साकोसका अध्यक्ष त्रिलोचन कँडेल विशिष्ट अतिथि रहनुभएको थियो ।

चितवन उद्योग संघ, राप्ती इकाई समितिका अध्यक्ष सुदिप कुमार ओलीले स्वागत एवम् बार्षिक कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी चितवन उद्योग संघ राप्ती इकाई समितिका कोषाध्यक्ष बुद्धिराम चौधरीले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । पेश गरिएका बार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन माथि सहभागी उद्योगीहरुबाट आएका जिज्ञासाहरुको समाधान समेत गरिएको थियो ।

कार्यक्रममा चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी अध्यक्ष पार्वती सुवेदी कँुबरले संघको महिला उद्यमी मञ्च र इकाई समितिको महिला उद्यमीहरुबीच समन्वयकारी भूमिका निर्वाह गरी महिला उद्यमीहरुका समस्यालाई समाधान गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै, राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार कँडेलले चितवन उद्योग संघ र उद्योग वाणिज्य संघ दुबै एकअर्काका परिपुरक संस्था भएकोले दुबै संस्थाहरुले उद्योगी, व्यवसायीहरुका एजेण्डाहरुलाई सँगै लिएर हिँड्ने र उद्योगी, व्यवसायीहरुमा पर्ने समस्यालाई मिलेर सुल्झाउनु पर्ने बताउनुभयो ।

साधारणसभाका विशिष्ट अतिथि चितवन उद्योग संघ तथा चितवन औद्योगिक विकास साकोसका अध्यक्ष त्रिलोचन कँडेलले चितवन उद्योग संघले अघि सारेका मुख्य–मुख्य परियोजना शक्तिखोर औद्योगिक क्षेत्र, चितवन प्रदर्शनी केन्द्र, औद्योगिक पाठशाला र इकाईसँग संघको सम्बन्धका बारेका प्रकाश पार्नुभएको थियो । अध्यक्ष कँडेल उद्योग संघ स–साना उद्योगदेखि ठूला–ठूला उद्योगहरुको समस्यामा अगाडि बढिरहेको संस्था भएकोले उद्योगीहरुले आफ्नो जायज समस्याहरुलाई ल्याएको खण्डमा संघबाट त्यसको निराकरण गर्न आफूहरु तयार रहेको बताउनुभयो ।

त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि राप्ती नगरपालिकाका नगरप्रमुख शम्शेर लामाले राप्ती क्षेत्रमा सञ्चालन भएका साना तथा ठूला उद्योगहरुको प्रबद्र्धनात्मक कार्यमा नगरपालिकाबाट प्लानिङ्ग बनाएर काम अगाडि बढाउने योजनामा रहेको समेत बताउनुभयो । उहाँले उद्योग, व्यवसाय विना कुनैपनि क्षेत्रमा विकास सम्भव नहुने भएकोले विकासको लागि पनि उद्योगीहरुका समस्याहरुलाई समाधान गर्नुपर्ने बताउनुभयो ।
साधारणसभाको अवसरमा भर्खरै मात्र राप्ती नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सेवारत हुनुभएका सुकदेव लम्साललाई राप्ती इकाई समितिको तर्फबाट स्वागत एवम् सम्मान गरिएको थियो ।

कार्यक्रममा चितवन उद्योग संघ राप्ती इकाई समितिका संस्थापक सदस्य टंकप्रसाद उप्रेती (रामु), राप्ती नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष पूर्ण प्रसाद आचार्य, चितवन उद्योग संघका उपाध्यक्षहरु सूर्य प्रसाद न्यौपाने, गजेन्द्र अधिकारी, मदन चिरञ्जीवी पोखरेल, तारा बहादुर कार्की, संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवाल, संघका कार्यसमिति सदस्य एवम् रत्ननगर इकाई समितिका अध्यक्ष गोविन्द प्रसाद खनाल, कार्यसमिति सदस्य एवम् खैरहनी इकाई समितिका अध्यक्ष युवराज पाठक, कार्यसमिति सदस्य पुरुषोत्तम रिजाल, चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी अध्यक्ष पार्वती सुवेदी कँुबर, कार्यसमिति सदस्य चन्दना कोइराला, महिला उद्यमी मञ्चका सदस्यहरु गीता पौडेल, सीता धिताल अधिकारी, जुनु पौडेल अधिकारी, संघका सञ्चार अधिकृत राजु भट्ट, राप्ती इकाई समितिका पदाधिकारी एवम् सदस्य लगायतको उपस्थिति रहेको थियो ।

चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघ, राप्ती इकाई समितिका उपाध्यक्ष खिलप्रसाद घिमिरेले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।
Advertisement




